निजगढ,बाराको महागढीमाई नगरपालिका बरियापुरमा आगामी मंसिर १ गतेबाट लाग्ने पञ्चवर्षीय ‘गढीमाई मेला २०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ ।गढीमाई मेला मूल समितिले पत्रकार सम्मेलन गरेर बिहीवार मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । समितिको अध्यक्ष एवंम महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मेलामा गढीमाई दर्शन गर्ने आउने श्रद्धालु भक्तजनको लागि स्वच्छ खानेपानी, घुम्ति शौचालय, अस्थायी शौचालयको व्यवस्थापन र सवारी साधनको लागि सडक मर्मत र निर्माणको काम अन्तिम अवस्थामा पुगेको जानकारी दिनुभयो । अध्यक्ष यादवले शान्ति सुरक्षा र पसल तथा स्टल व्यवस्थापनको काम भइरहेको बताउनुभयो ।
‘मेलाको लागि ४० घुम्ति, १ हजार अस्थायी शौचालय निर्माण गरिने छ, उहाँले भन्नुभयो, यसको लागि मधेस प्रदेश र संघीय सरकारको सहयोगमा काम भइरहेको छ ।’उहाँले मित्र राष्ट्र भारतबाट आउने श्रद्धालुको लागि सीमा नाकाबाट सहज प्रवेशको लागि सडक मर्मत र मनोरञ्जनको साधन र पसल व्यवस्थापनको लागि जग्गा वितरणको काम पनि भइरहेको बताउनुभयो ।मेला भर्न आउने श्रद्धालुहरुलाई निर्धक्क भएर गढीमाईको दर्शन र मेलाको अवलोकन गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।मेला व्यवस्थापन गर्न विभिन्न १३ वटा उपसमिति गठन गरी जिम्मेवारीसमेत बाँढफाँढ गरिएको पनि समिति अध्यक्ष यादवले जानकारी दिनुभयो ।
मेला प्रचारप्रसार उपसमितिअन्तर्गतको पत्रकार व्यवस्थापनको जिम्मेवारी पत्रकार श्रीकान्त गुप्तालाई दिइएको छ भने समाचार सम्प्रेषण संयोजकमा नरेश गुप्ता र न्युज प्राविधिकतर्फ अखिलेश यादवलाई मनोनयन गरिएको सो अवसरमा जानकारी गराइएको थियो ।‘उपसमितिको काम कर्तव्य तोकिएको छ, उहाँले भन्नुभयो, मेला सफल तुल्याउन उपसमितिहरुले पारदर्शी र मितव्ययी तरिकाले काम गर्नेछन ।’
















