वीरगञ्ज,डिफेन्डीङ् च्यापियन नेपाल पुलिस क्लब दोस्रो वीरगञ्ज गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधवार आदर्शनगर रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली वीरगञ्ज युनाइटेड क्लबलाई सडन डेथमा स्तब्ध पार्दै पुलिस फाइनलमा प्रवेश गरेको हो ।निर्धारित ९० मिनेटको खेल र त्यसपछिको टाई ब्रेकर दुवैमा बराबरी भएपछि सडन डेथमा वीरगञ्जलाई स्तब्ध पार्दै पुलिसले फाइनलको यात्रा तय गरेको हो ।

सडन डेथमा पुलिसका सिसिर चौधरी, नीरज खड्का, प्रज्वल चौधरी र सोनिल तामाङले गोल गरे । वीरगञ्जका लागि भने अजित चौधरी, विक्रम थोकर, प्रमिजय गच्छेदारले गोल गर्दा विवेक चौधरीको प्रहार गोलपोष्टको बार माथिबाट बाहिर गएपछि वीरगञ्ज पुलिससँग स्तब्ध बन्यो ।त्यसअघि टाई ब्रेकर भने ३–३ को बराबरीमा सकिएको थियो । टाई ब्रेकरमा पुलिसका लागि कप्तान रामचन्द्र वाजी, गोलरक्षक अमित टमाटा र विवेक पाण्डेले गोल गरेका थिए भने उज्वल राईको प्रहार गोलपोष्टको बारमाथिबाट बाहिरिन गएको थियो । यस्तै सञ्जीव लामाको प्रहार भने वीरगन्जका गोलरक्षकले रोकेर असफल पारिदिएका थिए ।

यसैगरी टाई ब्रेकरमा वीरगञ्जका लागि आशा गुरुङ, कप्तान शीशष थापा र कृपाकान्त महत्तोले गोल गरे भने शान्तबहादुर गुरुङको प्रहार पुलिसका गोल रक्षक अमित टमाटाले रोकेर असफल बनाएका थिए भने विदेशी खेलाडी बाफरको प्रहार गोलपोष्टको माथिल्लो बारमा लागेर फर्किएको थियो ।बुधवारको खेलको म्यान अफ दी म्याच पुलिसका गोलरक्षक अमित टमाटा घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल बिहीवार मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र सलहेश फुटबल क्लब सिराहाबिच हुनेछ ।भेट्रान सिटी क्लब वीरगञ्जले आयोजना गरेको प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply