निजगढ,निजगढ नगरपालिका वडा नम्बर १ मा रहेको सिंगौल हाट बजारको जग्गा अतिक्रमण भएको पाइएको छ ।
हाट बजारको लागि भनेर स्थानीयले केही वर्षपहिले छुट्याइएको वन क्षेत्रको जमिन अतिक्रमण गरेरव्यवसायिक प्रयोजनको लागि हाल धमाधम पसल र सटर निर्माण भएको हो । अतिक्रमित जमिनमा पक्का भवन, होटल तथा मासुलगायतका पसलहरुसंचालन गरिएको छ ।

स्थानीयका अनुसार शुरुमा बजार क्षेत्रमा ठमेल भनिने बुद्ध लोप्चनले होटेल र सुरज भोलनले मासु पसल खोलेकोमा डिभिजन वन कार्यालय, वडा र नगरपालिका कार्यालयले नियन्त्रण गर्न चासो नदिएपछि कपाल काटने काम गर्दैआएका राम जीवन ठाकुरले समेत अहिले होटल संचालन गर्न भन्दै सिमेन्ट ब्लकको पक्की भवन निमार्ण गरेका छन ।

बजारमा भवन निर्माण हुन थालेपछि केही समयअघि स्थानीयले विरोध गरेका थिए । तर उनीहरुको विरोधका बाबजुद बजार क्षेत्रको जमिन अतिक्रमण गरेर संरचना निर्माण कार्य हुदैआएको हो । ‘गाउँले विरोध गरेका थिए, एक स्थानीयले भने, तर आधिकारिक निकायले चासो नदेखाउँदा विरोधको अर्थ रहेन ।’ उनका अनुसार बजार क्षेत्र तोक्ने क्रममा शुरुमा सो क्षेत्रलाई खुल्ला राख्ने भनेर जमिन छुट्याइएको थियो तर अहिले भवन र सटर बनाउने र निजी कब्जामा पार्ने क्रम बढ्दै हो । एकपछि अर्कोले भवन र पसल बनाउदै जाने हो भने एक दिन बजार क्षेत्रको जमिन व्यक्तिको नियन्त्रणमा पुग्ने उहाँको चिन्ता छ ।बजार क्षेत्रको दक्षिण र पश्चिमतर्फ मूल सडक रहेकोले सोही सडकको किनाराबाट अतिक्रमण गरेर संरचना निर्माण गर्ने कार्य शुरु भएको हो ।

१ वर्षअघि बजारको दक्षिणतर्फको भागमा केही व्यक्तिहरुले टहरा बनाउन लाग्दा वडा कार्यालयले सूचना जारी गरेर रोक लगाएको थियो । तर अहिले भने टहरा र पक्की भवन नै बन्दासमेतवडा कार्यालयले कुनै वास्ता गरेको छैन । वडा अध्यक्ष मंगले लोप्चन आफैले २०८० बैशाख २९ गते सूचना प्रकाशित गरी सार्वजनिक जग्गाहरुमा आफू खुसी व्यक्तिगत प्रयोजनको लागि घर टहरा निमार्ण नगर्न भनेर गरेको निर्णय कार्यान्वयन नभएकोले पनि अतिक्रमणकारीहरुको मनोवल बढेको हो । अतिक्रमण नियन्त्रणमा वडाकार्यालयको यस पटकको मौनताले यसमा जनप्रतिनिधिहरुको पनि संलग्नता हुनसक्ने आशंका स्थानीयले गरेका छन ।

वडा कार्यालयको उदासिनताले पक्की भवन बन्ने क्रम दिन प्रतिदिन बढेको स्थानीयको भनाइ रहेको छ । यता वडा अध्यक्ष लोप्चनले भने बजारमा पक्की भवन बनेको आफूलाई जानकारी भएको तर सो कार्यमा आफूहरुको कुनै संलग्नतामा नरहेको बताउनुभएको छ । उहाँले जग्गा अतिक्रमण भएको जानकारी पाएसंगै निर्माण कार्य रोक्न पत्राचार गर्ने तयारीमा रहेको पनि बताउनुभएको छ ।बजारको जग्गा अतिक्रमण भएको विषयमा डिभिजन वन कार्यालय सिमरा र निजगढ नगरपालिका कार्यालयले पनि कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन ।त्यसैगरी बजार क्षेत्रमा पक्का भवन निर्माण भइरहेको तर कसले अनुमति दिएर बनाइएको हो भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष बाबुलाल वाईवाको भनाई छ ।हप्ताको दुई दिन हाट बजार संचालन गर्ने भनेर वन क्षेत्रको जग्गाबाट छुट्याएर २०७१ असोस ४ गतेबाट सो हाट बजार संचालनमा ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here