निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयन अन्यौलमा परेको छ ।साधारण सभाको बन्द सत्रले सहमतिको आधारमा एक साताभित्र नयाँ नेतृत्व चयन गर्ने म्याण्डेट दिएको २ महिना बितिसक्दा पनि नयाँ कार्यसमिति चयन हुन नसकेपछि वन समूहका उपभोक्तामा अन्यौल बढेको हो ।
गत असार महिनाको पहिलो साता भएको वन समूहको साधारण सभामा सहमति हुन नसकेपछि नयाँ कार्यसमिति चयन गर्न निर्वाचन समितिले १ साताको लागि समय दिएको थियो ।

पहिलो पटक थपिएको समयसिमा त्यसै गुज्रिएको र निर्वाचन समितिले सर्वसम्मत गर्न भनेर दोस्रो पटक अर्को एक साता समय थप गरेको थियो । २ पटकसम्म समय थप गर्दा पनि समिति चयन हुन नसकेपछि हाल निर्वाचन समितिले निर्वाचनको अर्को मितिसमेत तोकेको छैन ।
समितिले निर्वाचनको अर्को मिति नतोकेकाले समूहको नयाँ कार्यसमिति चयन अन्यौलमा परेको उपभोक्ताहरुले बताएका छन । निर्वाचन समितिका संयोजक एवंम सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले २ पटकसम्म समय थप गर्दा पनि सर्वसम्मतिको वातावरण तयार हुननसकेको र निर्वाचनको अर्को मिति पनि तय नगरिएको बताउनुभयो । उहाँले अझै पनि सहमतिको प्रयास जारी रहेको र यसको लागि पहल गर्न निजगढ वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालसंग आग्रह गरिएको पनि जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष बजगाई संयोजक रहेको निर्वाचन समितिमा सब डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेल, निजगढ नगरपालिकाका वन तथा वातावरण इकाइका अधिकृत अनिल कोइराला, निजगढ वडा नम्बर ९ की वडा समिति सदस्य बबिता श्रेष्ठ र निजगढ ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष गणेश भण्डारी सदस्य रहेका छन ।


















