सिमरा,सार्वजनिक जग्गामा बनेका घरटहराले बाटो र नाला निर्माणमा अवरोध पुगेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाले बिहीवार डुमरवाना क्षेत्रमा डोजर लगाएर हटाएको छ ।वडा नम्बर १५ को भारती चोकदेखि वडा नम्बर १३ तर्फ जाने बाटोमा निर्माण भएका घरटहरामाथि उपमहानगरपालिकाले डोजर चलाएको हो । सुरक्षासहित पुगेको उपमहानगरपालिकाको टोलीले भारतीचोकदेखि दक्षिणतर्फको बाटोमा बनेका घरटहरा भत्काएको हो ।

उक्त बाटोमा बनेको घरटहरा हटाउन उपमहानगरपालिकाले पछिल्लो पटक पुष २१ गते तीन दिने सूचना जारी गरेको थियो । यसअघि २०८० फाल्गनु १०, २०८१ जेठ २, कार्तिक २० र पुष १८ गते सूचना जारी गरेर घरटहरा हटाउन आग्रह गरेको थियो । पटकपटक सूचना जारी गर्दा पनि घरटहरा हटाउन नमानेपछि उपमहानगरपालिकाको डोजर लगाएर भत्काएको वडा अध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभयो ।

घर भत्काउन उपमहानगरपालिकाको टोली पुगेपछि स्थानीयबासी आक्रोशित बनेका थिए । उनीहरुले घर नभत्काउन आग्रह गरेपनि उपमहानगरपालिकाले प्रहरी र नगर प्रहरीको सहायतामा घरटहरा भत्काएको हो ।उपमहानगरपालिकाले यसअघि सिमरा बजार क्षेत्र र जीतपुरको गौशाला क्षेत्रमा अतिक्रमण गरेर बनेका घरटहरा डोजर लगाएर हटाइसकेको छ ।

Leave a Reply