सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको सुरु नहुँदै स्थगित भएको नगरसभा असार १३ गते सोमवार हुने भएको छ ।

उपमहानगरपालिकाका योजना शाखाका अधिकृत बालाराम खड्काले शनिवार मोबाईल संदेशमार्फत असार १३ गते सोमवार नगरसभाको आयोजना गरिने जानकारी गराउनु भएको हो । योजना शाखाका अधिकृत खड्काले १३ गते दिउँसो २ बजेबाट वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको सभाकक्षमा नगरसभा गरिने मोबाईल संदेशमार्फत जानकारी गराउनुभयो ।

शुक्रवार बिहान ११ बजेदेखि बकुलिया क्याम्पसको सभाहलमा आयोजना गरिएको छैठौं नगरसभामा नीति तथा कार्यक्रम र बजेट कार्यपालिका बैठकमा छलफल नगरी जबरजस्ति सभा आयोजना गरेको भन्दै विवाद भएपछि नगरप्रमुख राजन पौडेलले नगरसभाका लागि आवश्यक गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरिएको बताउनु भएको थियो ।

वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले विरोध जनाएपछि सभा स्थगित भएको बुझिएको छ । मेयर पौडेल आवद्ध माओवादी केन्द्र बाहेकका अन्य दलका अधिकांस जनप्रतिनिधिहरुले नगरसभाको विरोध गरेका थिए ।

कार्यपालिका बैठकमार्फत नगरसभाको विषयमा छलफल नैं नगरी सभा आह्वान गरिएको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका छन् । वडा अध्यक्षहरुले वडाको बजेटमा मेयर पौडेलले सिलिङ लगाउन खोजेको आरोप लगाएका छन् ।

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुनुअघि त्यसमाथि छलफल गर्नुपर्ने, छुटेका योजनाहरु समावेश गर्नुपर्ने र वडा सिलिङको विषयमा छलफल गर्नुपर्नेमा नगरिएकोले नगरसभामा आफूहरु सहभागी नभएको र विरोधमा उत्रेका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बताएका छन् । वडा अध्यक्षहरुका अनुसार मेयर पौडेलसँग नीति तथा कार्यक्रम र वडाको बजेट निर्धारण गर्ने विषयमा छलफल गर्न आफूहरुले आग्रह गरेपनि अटेरी गर्दै एकलौटी ढंगले नगरसभा आह्वान गर्नुभएको थियो ।

वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले नीति तथा कार्यक्रम सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी सर्वपक्षीय छलफलमार्फत आउनु पर्नेमा त्यस्तो नभएको बताए । नीति तथा कार्यक्रम र वडाको बजेटका विषयमा छलफल गर्न बिहिवार कार्यपालिका बैठक बोलाइएको थियो । तर दिउँसो बोलाइएको कार्यपालिका बैठक पनि अवेर रातिसम्म सुरु हुनसकेको थिएन । राती ८ बजेसम्म कार्यपालिका सदस्य नगर प्रमुख पौडेललाई पर्खिएर बसेका थिए । मेयर पौडेल आफ्नों कार्यकक्षमैं रहे पनि कार्यपालिकाको बैठकमा सहभागी हुनु्भएन । नगर प्रमुख छलफलका लागि नआएपछि वडा अध्यक्ष र कार्यपालिका सदस्य घर फर्किएका थिए ।

कार्यपालिका सदस्य घर फर्किएको केही समयपछि नगरसभामा उपस्थित हुन मोबाईल संदेशमार्फत नगर सभा सदस्यलाई खबर गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here