खासगरी काठमाडौं उपत्यकाभित्र सडक बत्ती नहुँदा अस्तव्यस्त बनेको ट्राफिक व्यवस्थापन सीमित स्थानमा मात्र भए पनि सहज बनेको छ । बढ्दो सवारी साधनको चापका कारण उपत्यकाबासी छोटो दूरीमा पनि घन्टौं जाममा बस्न बाँध्य हुँदै आएको अवस्थामा सम्बन्धित निकायको पछिल्लो प्रयास स्वागतयोग्य छ ।

 

 

 

प्रविधि र जनशक्तिको प्रयोग गर्न सकेको अवस्थामा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न सकिने उदाहरण उपत्यकाभित्र देखिएको छ । तर, यस प्रकारको सुविधा नभएका स्थानकै बाहुल्य रहेकाले यसको सुखद परिणाम भने उपत्यकाबासीले अनुभूत गर्न अझै पाएका छैनन् । विश्वमा ट्राफिक लाइटको इतिहास सन् १९१२ मा अमेरिकाको उटाह, साल्ट लेक सिटीबाट शुरू भएको हो ।

 

 

 

 

 

 

त्यहाँका प्रहरी लेस्टर वायरले शुरू गरेको यो पद्धतिलाई १९१४ को अगस्टमा आएर अमेरिकन ट्राफिक सिग्नल कम्पनीले व्यावसायिकरूपमा लियो र प्रहरीसँग मिलेर सडकमा जडान गर्न थाल्यो ।पछि विस्तारै यसले विश्वव्यापी स्वरूप हासिल गर्यो । सवारी प्रहरीको श्रम बचाउने र लगानीका दृष्टिले पनि सस्तो पर्ने भएकाले सवारी व्यवस्थापनका लागि यो विधि संसारभर लोकप्रिय बन्यो । स्थानीय सरकार र नागरिकको सभ्यताको सूचक मानिएको सडक व्यवस्थापनमा सडक बत्ती अंग बन्नपुग्यो र यससँग सम्बन्धित आचारसंहितासमेत नगरपालिकाहरूले बनाउन थाले ।

 

 

 

 

 

सूर्यबाट ताप प्राप्त गरेर बल्ने बत्तीको व्यवस्थापनका कारण ठूलो लगानी पनि नलाग्ने र सवारी आवागमन व्यवस्थित गर्न सहज पनि हुने भएका कारण नेपालले पनि यसको अनुसरण नगर्ने कुरै भएन । पछिल्लो समयमा काठमाडौंका मुख्य–मुख्य चोकहरूमा ट्राफिक प्रहरीको उपस्थिति कम देखिन्छ । मुख्य चोकमा जडान गरिएका ट्राफिक लाइटले नै सवारी साधनको व्यवस्थापन गर्दै आएको छ ।

 

 

 

 

 

विगतमा पनि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएका थिए । तर त्यसले निरन्तरता पाउन सकेन । वर्षौंपछि अहिले ट्राफिक प्रहरी महाशाखाले पुराना ठाउँमा जडान भएका बत्तीका स्थानमा नयाँ ट्राफिक लाइट जडान गरेको छ भने नयाँ स्थानमा पनि ट्राफिक लाइट थप्ने काम गरेको छ ।

 

 

 

 

ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बन्न नसक्दा उपत्यकाबासीको जनजीवन नै प्रभावित बन्ने गरेको छ । कार्यालय समयमा त घन्टौं जाम हुनु सामान्य नै छ । खास गरी काठमाडौं भित्रिने कोटेश्वर नाकामा भने ट्राफिक जाम व्यवस्थित हुन नसक्दा यात्रुहरूले सास्ती झेल्दै आएका छन् ।सडकको अवस्था राम्रो बनाउनेतर्फ सरकारले पछिल्लो समय गरेको काम राम्रो छ ।

Leave a Reply