वीरगञ्ज,वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकले शनिवार आफ्नो ३८औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा पत्रिकामा कार्यरत पत्रकार र कर्मचारीहरूलाई पुरस्कारसहित सम्मानित गरिएको छ ।वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस पटक पर्सा जिल्लाकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ । उहाँलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रु ५१ हजार नगद राशीको साथमा दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

कार्यक्रममा प्रतीक दैनिककै ग्रामीण संवाददाता धर्मेन्द्र चौरसिया उत्कृष्ट संवाददाताको रूपमा १५ हजार राशीबाट पुरस्कृत हुनुभएको छ । साथै, स्तम्भकार कुमार रूपाखेती १० हजार र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारी पाँच हजार राशीसहित पुरस्कृत हुनुभएको छ ।
प्रतिक दैनिकका सम्पादक जगदिश शर्माको अध्यक्षतामा वीरगञ्जको लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइराला, नेता तथा समाजसेवी श्याम पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

















