सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित नगर आँखा अस्पतालले शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
बिहान १० बजेदेखि शुरु भएको शिविरमा दुई सय पचास जनाको आँखा चेक जाँच र निःशुल्क औषधि वितरण गरिएको थियो ।शिविरमा आँखा रोग विशेषज्ञ डाक्टर दिलिपकुमार यादवले बिरामीहरुको आँखा परीक्षण गर्नुभएको थियो । डाक्टर यादवले अहिलेको गर्मीयाममा मोतियाबिन्दु र आँखा पाक्ने रोगको जोखिम बढी हुने र शिवीरमा आएका मध्ये अधिकांशमा पनि त्यस्तै समस्या देखिएको बताउनुभयो ।
भागवत यादव स्मृति प्रतिष्ठानले आयोजना गरेको सो शिविरमा आँखासहित अन्य बिरामीको पनि स्वास्थ्य परीक्षण गरिएको स्थानीय दिनेशप्रसाद गुप्ताले बताउनुभएको छ । शिविरमा अन्नपुर्ण सुपर स्पेसलिस्ट क्लिनिकका मृगौला रोग विशेषज्ञ डाक्टर अनुरागप्रसाद सिंह तथा स्त्री रोग विशेषज्ञ डाक्टर स्वयता सिंह छाती रोग विशेषज्ञ सुनिलकुमार पटेल, हाडजोर्नी रोग विशेषज्ञ सुरेन्द्र चौधरीलगायतले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।प्रतिष्ठानले विगत तीन वर्षदेखि जिल्लाका विभिन्न स्थानमा शिविरको आयोजना गर्दै आइरहेको छ ।



















