वीरगञ्ज – नेपालीहरूको महान् चाड बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई सुरक्षित, शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले विशेष चाडपर्व सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुने मानिसको अत्यधिक आवतजावत, बजार तथा व्यापारिक क्षेत्रमा बढ्ने भीडभाड, सार्वजनिक यातायातमा हुने चाप, धार्मिक तथा सांस्कृतिक गतिविधि, किनमेल तथा आर्थिक कारोबारमा हुने वृद्धिलाई मध्यनजर गर्दै सुरक्षा योजना लागू गरिएको पर्सा प्रहरीले जनाएको छ ।

सुरक्षा योजनाअन्तर्गत जिल्लाको शान्ति सुरक्षालाई थप सुदृढ तथा प्रभावकारी बनाउन विभिन्न संवेदनशील तथा भीडभाड हुने स्थानमा प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरीले विशेष निगरानी, नियमित गस्ती तथा चेकजाँचलाई समेत थप कडाइ गर्ने जनाएको छ । चाडपर्वका क्रममा आपराधिक गतिविधि बढ्न सक्ने, शान्ति सुरक्षामा खलल पुग्न सक्ने तथा चोरी, ठगी, जुवातास, मादक पदार्थ सेवन, आतसवाजी लगायतका गतिविधिबाट जनधनको क्षति हुनसक्ने सम्भावनालाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ ।

त्यसैगरी, मादक पदार्थ तथा मनोद्दीपक पदार्थ सेवन गरी सवारीसाधन चलाउने कार्य नियन्त्रण गर्नसमेत प्रहरीले निगरानी तथा चेकजाँचलाई प्राथमिकतामा राखेको छ । पर्सा प्रहरीले सर्वसाधारणलाई चाडपर्व सुरक्षित र मर्यादित ढंगले मनाउन आग्रह गरेको छ । प्रहरीले जुवातास खेल्ने तथा खेलाउने, आतसवाजी गर्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न नहुन समेत अपिल गरेको छ ।

प्रहरीले कुनै आपराधिक गतिविधि वा शान्ति सुरक्षामा असर पार्ने गतिविधिबारे जानकारी प्राप्त भएमा समयमै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । चाडपर्वलाई सुरक्षित, शान्तिपूर्ण र उल्लासमय बनाउन प्रहरीको प्रयाससँगै नागरिकको सहयोग र सचेतना पनि आवश्यक रहेको भन्दै पर्सा प्रहरीले सुरक्षित समाज निर्माणमा साझा जिम्मेवारी निर्वाह गर्न सर्वसाधारणमा अपिल गरेको छ ।

Leave a Reply