सिमरा,शिक्षिका सीता अधिकारीले विद्यालयमा हाजिरी गरेपछि सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लामो समयदेखि उत्पन्न विवाद अन्त्य भएको छ ।जीतपुरसिमर उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीको उपस्थितिमा भएको छलफलपछि विद्यालय व्यवस्थापन समिति शिक्षिका अधिकारीलाई हाजिर गराउन सहमत भएको हो । छलफलमा उपप्रमुख अधिकारीसहित नगर शिक्षा समितिका सदस्य हरिदेव खरेल, हिराबहादुर गुरुङ, वडाध्यक्ष धनबहादुर श्रेष्ठ, सुनिल गुप्ता, भोजबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बस्नेत, प्रध्यानाध्यापक शंकर आचार्यलगायतको उपस्थिति रहेको थियो ।

छलफलमा नगर उपप्रमुख अधिकारीले शिक्षक सरुवाको विवादलाई थप नबढाउन र सरुवा भएका शिक्षकलाई हाजिर गराउने वातावरण बनाउन आग्रह गर्नुभएको थियो । बैठकमा अधिकारीले अबदेखि शिक्षकको सरुवा, दरबन्दी मिलान र पदस्थापन गर्दा वैज्ञानिक ढंगले तथा विवाद नहुने गरी गर्ने, विद्यालय व्यवस्थापन समितिसंग छलफल गरेर मात्रै गर्ने प्रतिवद्धता जनाएका थिए । नगर उपप्रमुखको प्रतिवद्धतापछि विद्यालय व्यवस्थापन समितिले अधिकारीलाई हाजिर गराएको हो ।
छलफलमा सहमति जुटेपछि विद्यालय व्यवस्थापन समितिले खादा लगाएर अधिकारीलाई विद्यालयमा स्वागत गरेको थियो । नगर शिक्षा समितिले गत जेठ १७ गते जीतपुरस्थित फकिरा गिरी राजेश्वर माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी अधिकारीलाई सिमरा र सिमरास्थित विद्यालयमा कार्यरत बराललाई जीतपुरमा सरुवा गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि सुरु भएको विवाद साउन २९ गते नगर प्रमुख राजन पौडेल र वडाध्यक्ष श्रेष्ठबीच घम्साघम्सी परेको थियो । सोही घटनालाई लिएर नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले नगर प्रमुख राजन पौडेलले वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुमाथि अभद्र व्यवहार प्रदर्शन गरेकोभन्दै विज्ञप्ति निकालेर निन्दा गरेको थियो ।

Leave a Reply