पुष्पराज खतिवडा
बारा,बाराको उत्तरी क्षेत्रका बस्तिबाट उत्पादन गरिएको मदिरा प्रहरीको मिलिमतोमा सीमावर्ति भारतीय शहर बजारसम्म पु¥याएर बिक्री हुने गरेको पाइएको छ ।जिल्लाको जीतपुरसिमरा उमहानगरपालिकाको जैतापुर, मनहर्वा, पिलुवा र रामनगर क्षेत्रमा उत्पादित मदिरा स्थानीय प्रहरीको मिलिमतोमा जिल्लाका विभन्न शहर बजार हुदै सीमापारि भारतसम्म पु¥याएर बिक्री हुने गरेको हो ।मदिराको कारोबार गर्ने समूहले साईकल, मोटरसाईकल र स्कुटीमा राखेर लुकाइछिपाई बाराका दक्षिणी भेगका शहर बजार र भारतसम्म पु¥याएर बिक्री गर्ने गरेका छन । प्रहरीले मदिराको कारोबार गर्ने समूहसंग रकम लिएर मदिरा ओसारपसारमा छुट दिएको बताइन्छ । मदिरा उत्पादक र ओसारपसार गर्ने समूहसँग प्रहरीले मासिक ५ सयदेखि एक हजार रुपैयासम्म रकम लिने गरेको पनि बताइएको छ ।
सडेगलेका अखाद्य वस्तु, युरिया मल र विषाक्त केमिकल समेतको प्रयोग गरेर उत्पादन हुने घरेलु मदिरा प्रहरीकै मिलिमतोमा निर्वाध रुपमा बिक्री वितरण हुनेपछि जनस्वास्थ्यमा जोखिम बढेको छ ।
त्यसैगरी जिल्लाको कोल्हबी र निजगढ नगरपालिकाका विभिन्न वडाहरुमा पनि घरेलु मदिरा उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएको मदिरा पनि स्थानीय होटलसहित जिल्लाका विभिन्न शहर र वीरगञ्ज, हेटौडा तथा भारतीय बजारसम्म पु¥याउने गरिएको छ । भारतको बिहारमा मदिरा उत्पादन र सेवनमा सरकारले प्रतिबन्ध लगाएपछि जिल्लामा उत्पादन भएको मदिरा चोरी तस्करी हुदै भारत लैजाने गरिएको हो ।
यसैबीच जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित जैतापुरमा प्रहरीले शुक्रवार ४० लिटर घरेलुु मदिरा नष्ट गरेको छ । सवारी चेकजाँचका क्रममा प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको उक्त मदिरा चौकी परिसरको खाल्टोमा पोखेर नष्ट पारिएको हो ।मदिराको कारोबार गर्ने समूहले साईकल, मोटरसाईकल र स्कुटीमा लुकाइछिपाई बिक्रीका लागि लैजाने क्रममा विभिन्न मितिमा सो मदिरा नियन्त्रणमा लिएको चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक डम्बरनारायण श्रेष्ठले जानकारी दिनुभयो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष चतुरबाबु वाग्ले, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमलाल थिङ्ग, पत्रकार पुष्पराज खतिवडा लगायतको रोहबरमा १७ वटा साना ठुला बोतलमा रहेको मदिरा नष्ट गरिएको हो ।

















