नेपालमा नेकपा माओवादीले दश वर्षसम्म सशस्त्र संघर्ष संचालन गरेको थियो । यो अवधिमा धेरै मानवीय र भौतिक क्षति भयो । यो संघर्षले राजनीतिक रुपबाट देशलाई त केही फाइदा भयो होला नै तर यसले फाइदाभन्दा धेरै बेफाइदा गरेको छ ।
संघर्षमा सयौं नेपाली आमाका छोराछोरीको अनाहकमा ज्यान गएको छ । कति बालबालिका टुहुरा भए, धेरैको गर्भमा नै ज्यान गयो । कयौं बर्बरतापूर्ण घटना भएका थिए । यो युद्धको बाहनामा देशमा अपराध पनि भयो । जस्तै वीरगञ्जका तत्कालिन मेयर प्रदीप गिरी, पंडित नारायण पोखरेल अनि अमर लामाको हत्या गर्नुपर्ने कारण माओवादीले आजसम्म बताउन सकेको छैन ।
यस्ता केही अपराध वा युद्ध विरोधी कार्य माओवादीबाट भएको छ भने राज्यको त कुरै नगरौं । राज्य खासगरी शाही सेनाले त देशभर त्यतिबेला ताण्डव नै मच्चाएको थियो । सेनाले गरेको बर्बरताबाट सायदै कोही चोखो नहोला । युद्धमा संलग्न रहेका वा दोहोरो भीडन्तमा परेकाहरुको सवालमा त फरक कुरा होला तर नियन्त्रणमा लिएर हत्या गर्नु, नागरिक बेपत्ता पार्नु अनि सैनिक ब्यारेकमा बलात्कार गर्नु यो सेनाको बर्बरता मात्र होइन अपराध र मानवता विरोधी कार्य हो ।
यस्ता निकृष्ट कार्यको जति निन्दा गरेपनि कमै हुन्छ । यस्तो अपराधमा संलग्नहरुलाई यो देशमा युद्ध सकिएको दुई दशक हुँदा समेत माफी दिइएको छ । मुलतः माओवादीका अध्यक्षको अर्कमण्यताका कारण पनि यो अराजकता सृजना भएको हो ।
पटक पटक सरकारमा गएर माओवदीका अधयक्षले यो समस्या समाधानमा लागेको देखिएन । तर, अहिले ढिलै भएपनि दलहरुका बीचमा सहमति भएर बुधवार मात्रै प्रतिनिधि सभाबाट विधयक पारित भएको छ । कानुन बनेको छ र अब आशा गरौं पीडितले चाढै न्याय पाउनेछन् अनि पीडकले सजाय ।















