रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ५ कोइरी टोलमा एक वृद्ध पुरुषको हत्या गरी धान खेतमा फालिएको अवस्थामा शव फेला परेको छ ।७७ वर्षीय स्थानीय अनिरुद्ध महतोको शव बुधवार बिहान झोलुङ्गे पुल पश्चिम धान खेतमा फेला परेको हो । उनको पेटमा चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयहरूका अनुसार महतोले बारीमा तरकारी खेती गर्दै आफ्नो जीवन निर्वाह गर्दैआइरहेका थिए । घटनाबारे जानकारी दिंदै वडा अध्यक्ष शिवशङ्कर यादवले धारिलो हतियार प्रहार गरी हत्या गरिएको पुष्टि गर्नुभएको छ । घटना सार्वजनिक भएलगत्तै रौतहट प्रहरीले गहिरो अनुसन्धान थालेको छ ।घटनास्थलमा प्रहरी उपरीक्षक दिलीप घिमिरे, प्रहरी नायब उपरीक्षक एलिजा गिरी, र प्रहरी निरीक्षक उमाशंकर गुप्ताको टोली पुगेर घटनाको मुचुल्का उठाएको थियो ।
“घटनाको अनुसन्धान जारी छ, मृतकको बसोबास रहेको स्थानदेखि घटनास्थलसम्म सर्च अभियान चलाएको र प्रमाणहरू सङ्कलन गर्ने क्रममा छौँ, शव पोस्टमार्टमका लागि पठाउनेछौँ । घटना बारे अहिले नै केही भन्नसक्ने स्थिति छैन, अनुसन्धानपछि थप जानकारी दिनेछौँ, “प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता एलिजा गिरीले भन्नुभयो ।
घटनास्थलमा पुगेका गौर नगरपालिकाका मेयर शम्भु साह र वडाध्यक्ष शिवशङ्कर यादवले घटनामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी सार्वजनिक गर्न माग गरेका छन् ।


















