वीरगञ्ज,जनमत पार्टी अध्यक्ष डा.सिके राउतले गणतन्त्र सखाप पार्ने खेल भइरहेको बताउनुभएको छ । जनमत पार्टी पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष राउतले कांग्रेस र एमाले जस्ता दुई ठूला दलहरुबाट गणतन्त्र सखाप पर्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको हो ।
नेपालमा अब दुई दलीय व्यवस्था जबरजस्ती लादने षडयन्त्र भइरहेको बताउदै उहाँले यो षड्यन्त्र सफल भएमा देश र जनतालाई नोक्सानी पुग्ने उहाँको भनाई थियो । ‘गणतन्त्र र समावेशी लोकतन्त्र सखाप पार्ने खेल भइरहेको छ, उहाँले भन्नुभयो, यो षडयन्त्र सफल भयो भने देश फेरि पश्च्यगमनमा जाने छ ।’
नेपाली कांग्रेस र एमालेले शुरु गरेको यस्तो प्रपञ्चको गन्ध बुधवारको प्रतिनिधि सभा बैठकमा पनि आएको उहाँको भनाई थियो । कांग्रेस र एमालेको षडयन्त्र विरुद्ध सडक आन्दोलनका लागि तयार रहन पनि कार्यकर्ताहरुलाई अध्यक्ष राउतले निर्देशन दिनुभयो ।
‘यसैको लागि दुई ठूला दल एकमत भएका छन, अहिले मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारको कुनै पनि देशमा अभ्यासमा छैन । ठूला दलहरुमध्ये एउटा सरकारमा र अर्को विपक्षमा संसदीय व्यवस्थाको मान्यता हो । तर हाम्रो मुलुकमा त्यसको उल्टो भइरहेको छ ।’सरकार र सदनबाट जनताको पक्षमा कुनै उपलब्धिमूलक काम हुने विश्वास नरहेको जनाउँदै उहाँले अबको अन्तिम बाटो भनेको सडक आन्दोलन नै रहेको जिकिर गर्नुभयो । संघीयतालाई ‘पर्फेक्ट’ बनाउँन संघीय सरकारले अझै पनि प्रदेश सरकारहरुलाई अधिकारबाट बञ्चित गरिरहेको उहाँले आरोप लगाउनुभयो ।कार्यक्रममा कांग्रेस नेतृ रम्भा मिश्रासहित एमाले, माओवादी, जसपा र लोसपा पार्टी परित्याग गरी करिब १ हजार ३ सयको हाराहारीमा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका जिल्ला इन्चार्ज माधव सिंहले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेमा अधिकांश महिलाहरु रहेका थिए । प्रवेश गर्नेमध्ये आधाभन्दा बढी महिलाहरु रहेको इन्चार्ज सिंहले बताउनुभयो ।
जिल्लाका विभिन्न पालिकाबाट कार्यक्रमा सहभागी हुन आएका महिलाहरुलाई अध्यक्ष राउतले टिका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

















