वीरगन्ज । नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिनापश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो ।सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री सरोज यादवले जानकारी दिनुभयो ।२७ पुसमा एमाले लगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार मुख्यमन्त्री बन्नुभएको थियो । सरकारमा चार मन्त्रालयसहित एमाले सहभागी बनेको थियो ।केन्द्रमा समीकरण फेरिएपछि गत चैत २२ गते मुख्यमन्त्रीको दबाबमा एमालेका मधेस सरकारका चार मन्त्रीले राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका थिए । तर त्यतिबेला एमालेले समर्थन भने फिर्ता लिएको थिएन । मधेस प्रदेश सभामा एमाले २३ सांसदसहित पहिलो दल हो ।



















