कलैया,नेपाल दलित सङ्घर्ष समिति बाराले जिल्लामा दलित समुदायमाथि हुने गरेका भेदभाव र छुवाछुतको घटनामा कडा कारबाही गर्न माग गरेको छ ।समितिका अध्यक्ष गुल्चन महारा चमारको नेतृत्वमा मङ्गलवार जिल्ला प्रशासन कार्यालय बारा पुगेको दलित अगुवाहरूको टोलीले बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई बुझाएको ज्ञापनपत्रमा यस्तो माग गरिएको हो ।

समितिले कलैया उपमहानगरपालिका– १७, ब्रह्मपुरी गाउँमा दसैँको अवसरमा आयोजित दुर्गा पूजामा गैह् दलित समुदायका केही मानिसहरुले गाउँका दलित समुदायलाई जलयात्रा र पूजामा सहभागी हुनबाट वञ्चित गरिएको आरोप पनि लगाएको छ ।ज्ञापन पत्रमा उल्लेख भएअनुसार, नेपालको संविधानले जातीय छुवाछुत र भेदभावलाई स्पष्ट रूपमा निषेध गरेको छ । तर, ब्रहम्पुरी गाउँमा तथाकथित उपल्लो जातिको केही व्यक्तिहरुले दलित समुदायको हक अधिकारमाथि ठाडो हस्तक्षेप गरिएको छ ।

पूजा आयोजक समितिका डा. रामाशंकर साह, श्याम साह तेली, रामाशंकर साह तेली, धेनुक राउत कुर्मी, नवल पटेल, केदार राउत कुर्मी, रुदल साह तेलीलगायतले दलित समुदायलाई पूजामा सहभागी हुन र जलयात्रामा सामेल हुनबाट रोकेको आरोप छ ।

नेपाल दलित सङ्घर्ष समिति बाराका अध्यक्ष गुल्चन महारा चमारले ब्रह्मपुरी घटनाले दलित समुदायको आत्मसम्मान र संवैधानिक अधिकारमाथि गम्भीर आघात पु¥याएको बताउनुभयो । “संविधान र कानुन सबैका लागि समान छ, तर हामीलाई पूजा स्थलमा प्रवेश गर्नबाट रोकिनु र जलयात्रामा सहभागी हुन नदिनुले सामाजिक सद्भावमाथि नै प्रश्न उठाएको छ,” उहाँले भन्नुभयो, “हामी यो अन्यायविरुद्ध अन्तिमसम्म लड्नेछौँ र दोषीमाथि कडा कारबाही नभएसम्म चुप लागेर बस्ने छैनौँ ।”

नेपाल दलित सङ्घर्ष समितिले दोषीमाथि कानुनी कारबाही गर्न, ब्रम्हपुरीमा जारी पूजामा दलित समुदायलाई निर्बाध रूपमा सहभागी गराउन र उनीहरूको जिउधनको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गरेको छ । साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरिएको छ ।
यसैबीच सामुदायिक सेवा केन्द्र श्रीपुर–मुर्लीका अध्यक्ष रामकुमार सर्राफले पनि घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । “आजको युगमा पनि छुवाछुत र भेदभाव जस्ता कुप्रथा कायम रहनु अत्यन्त निन्दनीय छ,” सर्राफले भन्नुभयो, “यस्ता घटनाले सामाजिक एकता र सद्भावलाई कमजोर बनाउँछ । घटनाको सत्यतथ्य छानबिन गरी दोषी ठहरिएकालाई कडा कारबाही गरियोस् ।”

Leave a Reply