वीरगञ्ज,पर्साको जगरनाथपुर गाउँपालिकाको कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर जेठाजुद्वय र अर्का एक स्थानीय पक्राउ परेका छन् ।असोज २ गते जगरनाथपुर गाउँपालिका – ५ मसिहानी निवासी ५६ वर्षीय कान्तिदेवी बिनको हत्याको आरोपमा उनकै सहोदर जेठाजु द्वय ५९ वर्षीय चन्द्रिका राउत, ५७ वर्ष अमिरिका राउत बिन बिन र स्थानीय ३६ वर्षीय लालबाबु राउत बिन पक्राउ परेका हुन् । मङ्गलवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई सार्वजनिक गरेको छ ।श्रीमानको मृत्युपछि एक्लै बस्दै आएकी कान्तिदेवीसँग रहेको दुई लाख ५० हजार रुपैयाँ चोर्ने नियतले घरमा प्रवेश गरेका तिनै जनाले उनको टाउकोमा धारिलो हतियार प्रहार गरी बेहोस बनाएर घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । कान्तिदेवीका श्रीमानको १० वर्षअघि मृत्यु भइसकेको छ भने दुई छोराहरू कामको सिलसिलामा देशबाहिर बस्दै आएका छन् । तिन जना छोरीहरूको भने विवाहा भइसकेको छ ।पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहका अनुसार असोज १ गते मध्यरातमा चन्द्रिका, अमेरिका र लालबाबु मृतक कान्तिदेवीको फुसको घरमा चोरी गर्न सेन काटेर (सुरुङ खनेर) प्रवेश गरेका थिए । उनीहरू प्रवेश गरेको आवाज सुनेपछि घरमै सुतिरहेकी कान्तिदेवीले ब्युँझिइन । कान्तिदेवी ब्युँझिएपछि उनीहरूबिच विवाद सुरु भयो । त्यही क्रममा होहल्ला भएपछि एक जनाले कान्तिदेवीको टाउकोमा धारिलो हतियारले प्रहार गरेर उनलाई बेहोस बनाए ।‘कान्तिदेवी बेहोस भए पनि आफ्नो पहिचान खुल्ने भयले उनीहरूले सिरानीबाट उनको मुख थुनेर खुर्पी (धारिलो हतियार) ले घाँटी रेटेर हत्या गरे,’ एसपी शाहले भने । पक्राउ परेकामध्ये लालबाबुले प्रहरीलाई बयान दिने क्रममा कान्तिदेवीको हत्या गरेको स्वीकार समेत गरेका छन् ।मृतकका एक्ला छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेको हुँदा नारायणी अस्पतालमा पोस्टमार्टम पश्चात् कान्तिदेवीको शव अहिले पक्राउ परेका जेठाजु चन्द्रिकाले नै बुझेर लगी दाहसंस्कार समेत गरेको एसपी शाहले बताउनुभयो ।आमाको मृत्युको खबर पाएर घर फर्किएका मृतक कान्तिदेवीका छोरा अर्जुनले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरिएको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयानको आधारमा चन्द्रिका र अमिरिका बिन पनिलाई असोज १४ गते पक्राउ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here