राजनकुमार बानिया,
पोखरिया, २९ भदौँ– सशस्त्र प्रहरी वल बिओपि (बोर्डर आउट पोष्ट) भिखमपुर नेपाल–भारत सिमा क्षेत्रमा पर्ने जङ्गे पिलरहरुको खोजी कार्य तथा अनुगमन शुरु गरेको छ ।
सशस्त्र प्रहरीले पर्साको सिमा क्षेत्रबाट हराएका पिलरको खोजीसंगै भएका पिलरहरुको अवस्था बारे अनुगमन शुरु गरेको हो । यसक्रममा सोमबारसम्म सशस्त्र प्रहरी बल भिखमपुर अन्तरगत पर्ने २ सयको हाराहारीमा रहेका पिलरहरूको खोजी तथा अनुगमन सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिखमपुर र भारतीय सिमा सुरक्षा बल एसएसबीको टोलीले पिलर नम्बर ४१६÷६ देखि ४२४÷१३ सम्म पर्ने १८ किलो मिटर क्षेत्रका सिमा पिलरहरुको संयुक्त रूपमा अनुगमन गरेको हो । यस क्रममा करिव २ सयको हाराहारीमा रहेका पिलरको अनुगमन कार्य पुरा भएको सशस्त्र प्रहरीले बताएको छ ।
पर्साको धोवनी गाउँपालिका वडा नम्बर– १ घोडदौडदेखि जगरनाथपुर गाउँपालिकाको वडा नम्बर– १ पिपराडीसम्मको क्षेत्रमा अनुगमन गरी सिमा पिलरको अनुगमन गरिएको बिओपी भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ्गले जानकारी दिनुभयो ।