वीरगञ्ज,बङ्गलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भइरहेको अत्याचार र मठमन्दिर तोडफोडको विरोधमा वीरगञ्जमा हिन्दू समाज पर्साले शुक्रवार प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले बङ्गलादेश सरकारलाई हिन्दू समुदायको सुरक्षाको प्रत्याभूति गर्न र दोषीहरूलाई कारबाहीको माग गरेका छन् ।विरोध प्रदर्शन वीरगञ्जको मुख्य चोकबाट सुरु भई विभिन्न मार्ग हुँदै जिल्ला प्रशासन कार्यालयअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । प्लेकार्ड र ब्यानर बोकेर सहभागी भएका प्रदर्शनकारीहरुले हिन्दू समुदायको सुरक्षाको माग गर्दै नाराबाजी गरेका थिए ।
हिन्दू समाज पर्साका नेताहरूले बङ्गलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भइरहेका आक्रमण र मठमन्दिर तोडफोडलाई धार्मिक असहिष्णुताको नमूना भन्दै त्यसको कडा शब्दमा निन्दा गरेका थिए । उनीहरूले अन्तर्राष्ट्रिय समुदायलाई पनि यस घटनाप्रति ध्यान दिन आग्रह गरेका छन ।विरोध कार्यक्रममा विभिन्न हिन्दू संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता, र सर्वसाधारणको पनि सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरूले धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताको संरक्षणका लागि बङ्गलादेशमा ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए । यस क्रममा, विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको पर्सा प्रहरीले जनाएको छ ।
















