निजगढ,आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा बारा क्षेत्र नम्बर १ क बाट मधेस प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठले आइतवार निजगढमा चुनाव चिन्ह प्रर्र्दशन गर्नुभएको छ । उम्मेदवार श्रेष्ठले आफ्ना सहयोगी कार्यकर्तासहित निजगढ ८ स्थित बुद्ध चोकमा चुनाव चिन्ह जेब्रा अंकित ब्यानर र होडिङ्ग बोर्ड प्रदर्शन गर्नुभएको हो ।
श्रेष्ठले आफ्नो चुनाव चिन्ह जेब्रा अंकित होडिङ्ग बोर्ड खोलेर चिन्ह प्रदर्शन गर्नुभएको थियो ।
उम्मेदवार श्रेष्ठको प्रस्तावक रहनुभएका गोपाल लम्सालले नयाँ चिन्ह भएकोले सर्वसाधारण मतदातामा प्रचार प्रशारको लागि चिन्ह प्रदर्शन गरिएको बताउनुभयो । उहाँले यसपालीको निर्वाचनमा दलहरुप्रति मतदाताको रुचीकम देखिएको र स्वतन्त्र उम्मेदवारलाई पक्षमा रहेको पनि बताउनुभयो ।
यसैबीच श्रेष्ठले आइतवार नै चुनाव प्रचार संम्पर्क कार्यालय समेत संचालनमा ल्याउनुभएको छ । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित लायन्स चोकमा प्रचार कार्यालय स्थापना गरिएको हो ।
एमाले मधेस प्रदेश कमिटीको सदस्यसमेत रहनुभएका श्रेष्ठले एमालेले प्रदेश सभा सदस्यको लागि भौगोलिक सन्तुलन नमिलाएर आर्थिक चलखेलको आधारमा टिकट वितरण गरिएको भन्दै पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
















