कलैया,चितवनको सिमलताल दुर्घटनामा परेर त्रिशुली नदीमा बेपत्ता बाराको एउटा दम्पत्तीको अवस्था ६ दिन बितिसक्दा पत्ता नलागेपछि परिवारजन र आफन्तले कुशको शव बनाएर उनीहरुको अन्तिम संस्कार गरेका छन् ।त्रिशुली नदीमा बगेर बेपत्ता बनेका प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवाका ४८ बर्षिय ताराचन्द पटेल र उहाँकी पत्नी ४३ बर्षिया कुसमी देवीको अवस्था अझै पत्ता लाग्न नसकेपछि परिवारजनले कुशको शव बनाएर बुधवार अन्तिम संस्कार गरेका हुन । जिवित नभएको ठहर भएपछि कुशको शव बनाएर दुबै जनाको धार्मिक रितीरिवाज अनुसार दाहसंस्कार गरिएको दुर्घटनामा बेपत्ता ताराचन्दका भाइ रमेशले जानकारी दिनुभयो ।

परिवारजनले कुशको छुट्टाछुट्टै दुई वटा शव बनाएर एउटै खटमा राखी गाउँ नजिकैको त्रिवेणी नदीस्थित चटियाबाबा घाटमा पु¥याएपछि जेठा छोरा मदन पटेलले दागबत्ती दिनुभएको थियो । उनीहरुको १३ दिने किरियामापनि जेठा छोरा मदन नै बस्नुभएको छ । हिजोदेखि १३ दिने काजकिररियाको कामपनि अगाडि बढाइसकिएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा परेका पटेल दम्पतिका दुई छोरी र दुई छोरा छन् ।

भाइ रमेशकाअनुसारकाठमाडौंको अस्पतालमा भर्ना भएर उपचार गराइरहेका ज्वाइको भाइलाई भेट्न भनेर ताराचन्द पत्नीसंगै वीरगञ्जबाट बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चढेर काठमाडौंतर्फ जाँदै हुनुहुन्थ्यो । उक्त बससंगै गणपति डिलक्स बस चितवन–मुग्लिन सडकखण्डको सिमलतालमा माथिबाट झरेको लेदोसहितको पहिरोले बगाएर त्रिुशली नदीमा खसेको थियो । दुवै बसमा गरी चालकदलका सदस्यसहित ६५ जना यात्रु सवार रहेकोमा तीमध्ये गणपति बसमा सवार ३ जना यात्रु भने पौडिएर बाँच्न सफल भएका थिए ।दुर्घटनामा परेकामध्ये अहिलेसम्म कोही पनि जिउँदो भेटिएका छैनन् ।यसैबीच प्रसौनी गाँउपालिकाका अध्यक्ष विनोदप्रसाद जयसवालले दुर्घटनामा परेकाहरुको परिवारलाई राहत स्वरुप १ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । बुधवार दाहसंकारमा सहभागी हुन पुग्नुभएका गाँउपालिका अध्यक्ष जयसवालले पटेल परिवारलाई गाँउपालिकाको तर्फबाट राहत स्वरुप १ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो ।

Leave a Reply