सिमरा,बारा राईडर एसोशिएसनको आयोजनामा साउन चौथो साता बारा कोराको पाँचौं संस्करण आयोजना हुने भएको छ । आयोजकले साउन २६ गते शनिवार कोराको आयोजना गर्न लागेको हो ।हिन्दु र बौद्ध धर्ममा कुनै पनि पवित्र धार्मिक वा तिर्थस्थललाई घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई कोरा भनिन्छ । कोरा साइकिलिङ च्यालेन्जका सहभागीले धार्मिक स्थललाई दाहिनेतर्फ पारेर अवलोकन गर्ने गर्दछन् ।
बारा राईडर एसोशिएसनले यो पाँचौं पटक कोरा च्यालेन्जको आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा एक सय ५० जनाको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन साउन २० गतेभित्र पाँच सय रुपैया शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ । उक्त शुल्कबापत आयोजकले बिहानीको खाजा, खाना, पानी र बारा कोराको एक थान टिसर्ट उपलब्ध गराउनेछ ।सिमरा चोकमा रहेको रामजानकी मन्दिरबाट सुरु हुने उक्त कोरा करिब ४० किलोमिटरको यात्रापछि सिमरा पार्कमा आएर सम्पन्न हुनेछ ।
आयोजक बारा राईडरका कोषाध्यक्ष आरके भट्टराईकाअनुसार सिमराको राम जानकी मन्दिर, जीतपुर गढीमाई मन्दिर, जामे मस्जिद, वडा नम्बर ३ को शिव मन्दिर, गुम्बा, वडा नम्बर २ को मुसर्नीमाई, छठीमाई, वडा नम्बर १ को भिमेश्वर मन्दिर, पशुपति मन्दिर, गुम्बा हुँदै वडा नम्बर १४ को पशुपति मन्दिर, वडा नम्बर १५ को गुम्बा, वडा नम्बर १४ को रामजानकी मन्दिर, वडा नम्बर ४ कृष्ण प्रणामी मन्दिर, शिव मन्दिर, वडा नम्बर १ सिमरास्थित शिव मन्दिर घुमेर सिमरा पार्कमा आएर समापन गरिनेछ ।कोरा सम्पन्न गर्नका लागि करिब साढे तीन लाख अनुमानित खर्च हुने कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । कोरा सम्पन्न गर्नका लागि स्टार अस्पताल, नेपाल प्रहरी र ट्राफिक प्रहरीसंग समन्वय गर्ने भट्टराईले बताउनुभएको छ ।बारा राईडर एशोसिएसनमा ६० जना आवद्ध रहेका छन् । उक्त एशोसिएसनका अध्यक्ष शेषराज अधिकारी हुनुहुन्छ । १३ जनाको कार्यसमिति रहेको एशोसिएसनले साइकल चलाउन इच्छुक व्यक्तिलाई प्रोत्साहन गर्दैआएको छ ।



















