राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच साँत बुदे सहमति भएको खबर आइतबार बिहानै सार्वजनिक भयो ।दुई नेताहरुबीच सहमतिको प्रयास केही दिनदेखि भइरहेकाले पनि यो खबर धेरैका लागि स्वभाविक नै थियो । नेपालमा पुराना दलहरुका विकल्पमा नयाँ दलहरुको उदय धेरै नेपालीको चाहना पनि हो । खासमा यो सहमतिको पक्षमा कति जनता रहेछन भन्ने कुराको पुष्टि भने आगामी फागुन २१ मा हुने आम निर्वाचनको मत परिणामले पनि गर्ने नै छ । तर रवि र बालेनको सहमतिले देशको राजनीति भने अब एक खालको नयाँ धु्रवीकरणमा जाने संभावना चाही देखाएको छ । यो सहमतिले अरु दल अनि पुराना दल पनि एक ठाउँमा उभिने संभावना पनि उत्तिकै बढाएको छ ।
नेपालमा एक पटक नयाँलाई मौका दिऔं भन्नेहरुको जमात बढेको छ । मुख्यत ः काँग्रेस, एमाले र माओवादीले करिब तीस वर्षमा देशलाई बर्बाद बनाए भन्ने आरोप पनि लागेकै हो । उनीहरुले देश बनाउनका लागि केही राम्रो काम पनि गरे होलान् तर तुलनात्मक रुपमा देश उनीहरुका कारण अगाडि बढ्न नसकेको निश्चित नै छ । उनीहरुको आपसी गठबन्धनले देशलाई कमजोर बनाएकै हो ।
तर नयाँ भनिएका दलका नेताहरुले गरेको सहमतिले पनि पद नै सबैभन्दा ठूलो हो कि भन्ने पनि देखिएको छ । पालैपाले प्रधानमन्त्री वा पहिलो प्राथमिकता प्रधानमन्त्री भन्ने सहमतिको कुराले उनीहरुमा पनि सत्ता वा स्वार्थ ठूलो कुरा रहेछ कि के हो भन्ने आशंका बढाएको छ । उनीहरुको बीचमा भएको भनिएको पद बाँडफाँडले देशभन्दा ठूलो पद जस्तो देखिएको छ । नयाँ शक्तिहरु बीचको सहमतिमा देश र जनता पहिलो प्राथमिकता हुनुपथ्र्यो तर पद पहिला हुँदा देशलाई फाइदा हुँदैन कि भन्ने त्रास छ ? मानौं बालेन साहले चुनाव नजिते यो सहमतिको अवस्था के होला ? यस्ता धेरै आशंका छन ।















