निजगढ,बाराको निजगढमा निर्माणाधिन तिलगंगा आँखा अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
स्थानीय परियोजना सल्लाहकार समितिको बुधवार निजगढ नगरपालिका कार्यालयमा बसेको बैठकमा अस्पताल निर्माणको भौतिक प्रगति ९५ प्रतिशत पुगेको र आगामी कार्तिक २८ गते उद्घाटन गरेर नयाँ भवनबाट सेवा सञ्चालन गर्ने जानकारी गराइएको छ ।
निजगढ– ९ स्थित अस्पताल रोडमा सन् २०७५ बाट शुरु भएको आँखा अस्पताल निर्माणमा अष्ट्रेलियन दातृ संस्था फ्रेड होलोज फाउन्डेसनले करिब १९ करोड लगानी गरेको छ ।मोफसलकै ठुलो आँखा अस्पतालका रुपमा निर्माण भइरहेको निजगढ तिलगंगा अस्पतालको लागत १७ करोड अनुमान गरिएकोमा बढेर १९ करोड पुगेको पनि सो अवसरमा जनकारी गराइएको थियो ।
समितिका संयोजक निजगढ नगरपालिकाका मेयर सुरथ पुरीको अध्यक्षतामा बसेको बैठकले आगामी पाँच वर्षको लागि नयाँ परियोजना प्रस्ताव गर्ने, स्थानीयलाई उपचारमा सहुलियत प्रदान गर्ने र अस्पताल सञ्चालनमा आएपछि प्रचारप्रसार गर्ने तथा दिगो व्यवस्थापन र सञ्चालन गर्ने गरि काम अगाडि बढाउन केन्द्रिय समितिलाई सुझाव दिने निर्णय पनि गरेको छ ।
बैठकमा नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, फ्रेड होलोज फाउन्डेसनकी कन्ट्री म्यानेजर एन्जिला दाहाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामा, नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, रेडक्रस निजगढका पूर्व सभापति नारायणप्रसाद शर्मा, फ्रेड होलोज फाउन्डेसनका फाईनान्स अप्रेशन कोडिनेटर अभिनम कुशवाह, अस्पतालका प्रोजेक्ट म्यानेजर रामगोपाल प्याथ लगायतको उपस्थिति रहेको थियो ।


















