रौतहट,ठेक्का लगाएको सात वर्ष बितिसक्दा पनि पुल नबनेपछि आक्रोशित स्थानीयले ठेकेदार र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुखलाई बुधवार कुटपिट गरेका छन ।समयमा पुल नबनाएको भन्दै ४ दिनदेखि स्थानीयवासी निर्माणाधीन चाँदी खोलाको पुलमुनि रिले अनशन बसेका थिए ।बुधबार सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुरका प्रमुख डिई दरोगाप्रसाद साह, ठेकेदार दयाराम साह, संघीय संसद देवप्रसाद तिमल्सिना, नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीसहितको टोली अनशन स्थलमा पुगेको थियो । सोही क्रममा स्थानीयले ठेकेदार दयाराम साह र डिई दरोगाप्रसाद साहमाथि हातपात गरेका हुन ।तीन वर्षम सक्नुपर्ने काम सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीका कारण सात वर्षमा पनि अधुरो रहेको भन्दै स्थानीयले निर्माणाधिन पुलको मुनि चार दिनदेखि रिले अनशन गर्दै आएका छन ।सांसद, राजनीतिक दलका नेता र प्रहरीको साथ लागेर सडक डिभिजन कार्यालयका प्रमुख र ठेकेदार रिलेअशन बसेको स्थलमा पुगेपछि आक्रोसित स्थानीयले हातपात गरेको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बोधनाथ देवकोटाले बताउनुभयो ।
थपिएको म्याद अनुसार २०७७ पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना महामारी, लकडाउन र बन्द हड्ताल जस्ता कारण देखाउदै पुल अलपत्र पारेको थियो ।कोरोनाको कारण देखाउँदै दोश्रो पटक २०७७ माघ ११ को निर्णय अनुसार २०७८ असार १३ गतेसम्म काम सम्पन्न गर्ने गरी ६ महिना म्याद थप गरिएको थियो ।अलपत्र पुलको पुनः तेश्रो पटकका लागि २०७९ असारसम्मको म्याद थप भएको भएपनि निर्माण कार्य अझै सम्पन्न हुन नसकेपछि स्थानीयले रिले अनसन सुरु गरेका हुन ।ठेकेदारलाई काम सम्पन्न नगरेकोमा यसअघि नै स्पष्टीकरण सोधिएको डिभिजन सडक कार्यलयको भनाइ छ । पुलको हालसम्म ७५ प्रतिशत काम भएको बताइएको छ । ठेकेदार कम्पनीले आर्थिक अभाव, निर्माण सामग्रीको अभाव जस्ता कारण देखाउँदै निर्माण सम्पन्न गर्न समस्या भएको बताउदै आएको छ ।


















