निजगढ,निजगढ नगरपालिकाले तोकेको डिपो बाहेक अन्यत्रबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले मंगलवार सूचनामार्फत यस्तो अनुरोध गर्नुभएको हो ।

पछिल्लो समय कृषकहरुबाट नगरपालिकाले तोकेको डिपोभन्दा बाहिरको पसलहरुबाट पनि सरकारी अनुदानको मल बिक्री वितरण भइरहेको गुनासो आएको भन्दै नगरपालिकाले स्वीकृति प्राप्त र आधिकारिक डिपो बाहेक अन्य पसलबाट मल बिक्री वितरण गरेको पाइए कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

सूचनामा रसायनिक मल बिक्री तथा वितरण गर्न नगरपालिकाले अनुमति प्रदान गरेका नगरका ११ डिपो तथा बिक्रेताको नाम र ठेगाना पनि खुलाइएको छ । जसअनुसार नगरपालिकाको वडा नम्बर १ र ३ का लागि निजगढ तरकारी तथा फलफूल उत्पादन सहकारी संस्था वडा नम्बर ९, वडा नम्बर २ का लागि पाथीभरा कृषि सहकारी संस्था वडा नम्बर २, त्यस्तै वडा नम्बर ४ का लागि स्वतन्त्र कृषि सहकारी संस्था वडा नम्बर ४, वडा नम्बर ७ का लागि सरकारमाथा बचत तथा ऋण सहकारी संस्था वडा नम्बर ७ र वडा नम्बर ६ का लागि जयश्री कृषि सहकारी संस्था वडा नम्बर ८ बाट अनुदानको मल बिक्री वितरण भइरहेको जनाइएको छ ।

यस्तै वडा नम्बर १० का लागि कृषि सामग्र खरिद बिक्री सहकारी संस्था वडा नम्बर ८, वडा नम्बर ९ का लागि क्रियाशील बचत तथा ऋण सहकारी संस्था वडा नम्बर १२, वडा नम्बर ८ का लागि आलम बिज भण्डार वडा नम्बर ९ र वडा नम्बर ११ र १३ का लागि ग्यावा बिज भण्डार वडा नम्बर ११ ले मल बिक्री तथा वितरणको अनुमति पाएको जनाइएको छ ।
नगरपालिकाले नगरभित्रका १३ वडाका किसानलाई ११ वटा डिपो तथा बिक्रेतामार्फत मलको बिक्री वितरण गर्ने व्यवस्था मिलाउदैआएको छ ।

Leave a Reply