वीरगञ्ज,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन २ महिनाभित्र पारित हुने बताउनुभएको छ ।नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको २ महिनाभित्र पारित गरिने बताउनुभएको हो ।साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा एक वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने उहाँले बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल, प्रदेश सभा सदस्य बिना शर्मा, एमाले पर्सा जिल्ला कमिटी अध्यक्ष विशम्बर शर्मा, पार्टी उपाध्यक्ष एवं छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण नेकपा एमाले पर्साका सचिव महेश दासले गर्नुभएको थियो ।
मन्त्री गुप्ताद्वारा खादा बहिष्कार !
वीरगञ्ज,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शुभकामना दिन आउनेहरूसंग खादा र माला नल्याउन आग्रह गर्नुभएको छ । पर्सा क्षेत्र ३ बाट निर्वाचित नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गुप्ताले आफूलाई शुभकामना दिन आउने कार्यकर्ता र सर्वसाधारणलाई माला र खादाको प्रयोग नगर्न आग्रह गर्नुभएको हो ।
मन्त्रीमा नियुक्त भएपश्चात् पहिलो पटक गृह जिल्ला पर्सा आउन लागेको जानकारी दिँदै गुप्ताले सिमरा विमानस्थलमा स्वागत गर्न आउँदा वा नेकपा एमाले जिल्ला कमिटी पर्साको आयोजनामा भएको स्वागत तथा सम्मान कार्यक्रममा खाँदा फूललगायत अन्य स्वागतका सामानहरू नल्याउन आग्रह गर्नुभएको छ ।खादाको प्रयोगले वातावरण प्रदूषित हुने र अनावश्यक वस्तुमा फजुल खर्च हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।


















