oplus_0

दुष्यन्त चौधरी 

बारा, माघ १२ । थारू समुदायको सबैभन्दा ठूलो छाता संगठन मानिने थारू कल्याणकारीणी सभा (थाकस) को स्थापना दिवसकै अवसरमा बाराको नरहीमा भव्य रूपमा मनाइँदै गरेको दोस्रो माघी महोत्सवका क्रममा थाकस बारा जिल्ला कार्यसमिति पूर्णरूपमा बेखबर र अनुपस्थित रहेको भन्दै स्थानीय थारू अगुवाहरूले कडा असन्तोष व्यक्त गरेका छन् ।

करैयामाई गाउँपालिका र बारागढी गाउँपालिकाको संयुक्त आयोजनामा करैयामाई गाउँपालिका वडा नम्बर ८ नरहीमा माघी महोत्सव धुमधामका साथ सञ्चालन भइरहँदा थारू समुदायको प्रतिनिधित्व गर्ने भनिएको थाकस बारा जिल्लाका कुनै पनि जिम्मेवार पदाधिकारीहरूको उपस्थित नदेखिनु गैरजिम्मेवार, लज्जास्पद र समुदायप्रति अपमानजनक भएको आरोप लगाइएको छ ।

स्थानीय थारू अगुवाहरूका अनुसार, थाकस स्थापना दिवसकै दिन आयोजना गरिएको महोत्सवमा संगठनका प्रतिनिधि नदेखिनु संस्थागत असफलता र नेतृत्वको उदासीनताको स्पष्ट उदाहरण हो । “थाकसको नाममा राजनीति त हुन्छ, तर समुदायको संस्कार, संस्कृति र पहिचानसँग जोडिएको कार्यक्रममा संगठन मौन बस्नु दुःखद हो,” एक थारू अगुवाले बताए ।

थारू अगुवा कुन्दन फौजदार ले थाकसको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिँदै भन्नुभयो, “थारू कल्याणकारीणी सभा (थाकस) को केन्द्रीय कमिटी २००५ साल माघ १२ गते बारा जिल्लाकै गडहल निवासी स्व. अमर बहादुर फौजदार ले स्थापना गर्नुभएको हो । उहाँको नेतृत्वमा देशभर छरिएर रहेका थारू समुदायलाई एकताबद्ध गर्ने अभियान सुरु भएको थियो ।”

उहाँका अनुसार थाकस बारा जिल्लाको भवन निर्माणमा बकुलिया निवासी छनुबनु, छातापिपरा निवासी श्रवण कुमार चौधरी, फतेपुर निवासी छविलाल राय थारू, रामबरण राय थारू, हेङगौलिया निवासी रामचलितर चौधरी, ढोढियापिप्रा निवासी प्राणदत्त धामी तथा गडहल निवासी ब्रजकिशोर फौजदारको महत्वपूर्ण योगदान रहेको थियो ।

हाल भवन निर्माणमा संलग्न ती व्यक्तिहरू मध्ये ब्रजकिशोर फौजदार मात्र जीवित रहेको जानकारी दिइएको छ ।

थारू अगुवा लक्ष्मीप्रसाद चौधरी का अनुसार, “२०२८ सालमा थारू समुदायले मुठ्ठी दान संकलन गरी एक कठ्ठा जग्गा खरिद गरेका थिए । त्यसै जग्गामा २०५३ सालमा तत्कालीन थाकस बारा सभापति रामचलितर चौधरी को कार्यकालमा थाकसको भवन निर्माण भएको हो ।”

इतिहास, त्याग र सामूहिक प्रयासबाट स्थापित संस्थाले अहिले आएर आफ्नै स्थापना दिवसमा आयोजना गरिएको माघी महोत्सवलाई बेवास्ता गर्नु थारू समुदायको भावना र पहिचानमाथिको बेवास्ता भएको अगुवाहरूको ठहर छ । २०५३ सालमा भवन निर्माण भएपनि हाल सम्म सो भवन हालसम्म उद्घाटन गर्न नसकेको समेत आरोप लगाउनुभयो ।  हाल थाकस बाराको भवन तीन तल्ले रहेको छ । 

माघी महोत्सव भने थारू संस्कृति, भाषा, नृत्य, गीत र परम्परागत खानाका साथ उल्लासपूर्वक मनाइँदैछ । तर उत्सवको माहोलबीच पनि थाकस बारा नेतृत्वको अनुपस्थितिले समुदायभित्र गहिरो असन्तोष र बहस सिर्जना गरेको छ ।

Leave a Reply