रौतहट,फतुवाविजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवको मिलेमतोमा नगरपालिकामा व्यापक अनियमितता भएको आरोप लागेको छ । स्रोतका अनुसार काम नै नभएका विभिन्न योजना र शीर्षकमा रकम भुक्तानी गरी भ्रष्टाचार गरिएको छ ।
प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले नगरपालिकाको रकम हिनामिना गर्ने उद्देश्यले कार्यालयमा बस्न छाडेर बाहिर गोप्य ठाउँमा बसेर फर्जी बिलहरूको आधारमा सप्लायर्स र ट्रेडर्सलाई ९३ लाखभन्दा बढी रकम भुक्तानी गरेका छन् । असार ५ र ९ गते मात्र समग्र कन्स्ट्रक्शन एन्ड सप्लायर्सलाई १८ लाख ९७ हजार २३३ रुपैयाँ भुक्तानी दिइएको छ भने होटेल एन प्लाजालाई ५ लाख ३६ हजार ६८३, श्री स्टेशनरी गौरलाई ५ लाख ५१ हजार ७७, र शङ्कर प्रेस गौरलाई ९ लाख ५० हजार ५५० रुपैयाँ भुक्तानी गरिएको छ ।
नगरपालिकाले भुक्तानी दिएका सामानहरूको खोजबीन गरिएको खण्डमा प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवको कर्तुत बाहिर आउने स्रोतले दाबी गरेको छ । असारको पहिलो सातादेखि दुवै अधिकारी कार्यालय बाहिरै बसेर चेक बनाएर भुक्तानी गर्दै आएका थिए । कमिशनको कुरा मिलाएपछि भटाभट भुक्तानी हुने गरेको एकजनाले बताएका छन् ।
पालिकाले सम्पन्न नभएका कार्यको पनि भुक्तानी गरेको विषय अहिले चर्चामा छ । कमिशन कम दिएका र दिन नसकेका मानिसहरूको चेक नबनेपछि अनियमितताका कुरा बाहिर आएको हो ।
यसैबीच, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन रौतहटका अध्यक्ष एवं माध्यमिक विद्यालय शीतलपुरका प्रधानाध्यापक बुनिलालप्रसाद यादवले नगरपालिकाको कार्यालय विजयपुरमा पत्रकार सम्मेलन गर्दै प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले शिक्षक र कर्मचारीहरूको तलब बापतको रकम भुक्तानी नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । फतुवाविजयपुर नगरभित्र सञ्चालित ३१ वटा सामुदायिक विद्यालयका २५० भन्दा बढी शिक्षक तथा कर्मचारीहरू असार मसान्तमा तलब पाउनबाट वञ्चित भएका छन् ।प्रअ यादवले पालिकाले एक वर्षदेखि तलब भुक्तानी गर्न बाँकी राखेको बताउँदै प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले जानाजान तलब निकासा नगरेर शिक्षकहरूलाई दुःख दिएको आरोप लगाउनुभयो । उहाँले शिक्षकहरूबाट कमिशन नपाउने हुँदा रकम निकासा नगरिएको आरोप लगाउनुभयो ।
यो नगरपालिकाको शैक्षिक अवस्था पनि नाजुक छ । शिक्षा शाखामा एक महिनामा पाँचजना संयोजक परिवर्तन गरिएको छ भने बालविकासमा २४ जनाको दरबन्दी रहेकामा ३९ जनालाई भर्ना गरिएको छ ।


















