कलैया,नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि बारा जिल्लालगायत थप ५ जिल्लामा क्रियाशील सदस्यताको विवाद अझै टुङ्गो लाग्न सकेको छैन । बुधबार थप ३ जिल्लाको अन्तिम नामावली सूची सार्वजनिक गरेको कांग्रेश पार्टीले बारा, पर्सा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यता विवाद भने अझै मिलाउन सेकेको छैन ।

बाराको निजगढ नगरपालिका लगायत क्षेत्र नम्बर १, २ र ३ मा क्रियाशील सदस्यता सम्वन्धी विवाद तीव्र रहेको छ । कांग्रेश संस्थापन पक्षले मापदण्ड विपरित सदस्यको लागि सिफारिस पठाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएपछि जिल्लाबाट सिफारिस भइ गएका सदस्या विवादमा परेको हो । पौडेल पक्षधरसंगै संस्थापन पक्षले पनि सिफारिस भएको नाम कायम हुनु पर्ने भन्दै केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिएपछि सूची सार्वजनिक गर्न छानबिन समितिलाई समस्या परेको थियो ।

पार्टी सभापती शेरबहादुर देउवा समर्थक निजगढ नगर सभापती महेशी कुँवरले नयाँ थप, अन्य पार्टीबाट प्रवेश गरेकाको समायोजन र १३ औं महाधिवेशनमा छुट भएका समेत गरी झण्डै ३ सय नयाँ क्रियाशील सदस्यताको लागि सिफारिस गर्नुभएको थियो । तर संस्थापनइतर पक्षको विरोधका कारण नयाँ थप भएका र समायोजनमा परेका सबैको सदस्यता रोकिने भएको छ ।

कांग्रेशले बुधबार धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो । अब बारालगायत पाँच जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ । बाँकी रहेका जिल्लामा पनि विवाद लगभग टुंगिन लागेको उहाँले बताउनुभयो । कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गएको शनिबारदेखि गाउँ÷नगर अधिवेशन प्रारम्भ गरिसकेको छ । १२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी छ । कांग्रेसले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँअघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने र हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने तय भएको छ ।

Leave a Reply