निजगढ,बारा प्रहरीले अबैध यौन व्यवसायमा संलग्न भएको आरोपमा कलैयाबाट ४ महिलासहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरस्थित हिमानी रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा अबैध यौनधन्दा चलाएको आरोपमा पार्टी प्यालेस सञ्चालक वर्ष ३० का श्यामसुन्दर प्रसाद यादवसहित ६ जनालाई मंगलवार नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैली टोल बस्ने वर्ष २० का अर्का एक जना युवक र महिलाहरुको नाम तथा ठेगाना भने सार्वजनिक नगरी गोप्य नै राखेको छ ।पक्राउ परेका रेष्टुरेन्ट संचालक यादव नेपाल प्रहरीका पूर्वप्रहरी नायव निरीक्षक भएको बताइएको छ । यादवले जिल्लाका विभिन्न ठाउँहरूका महिलाहरूलाई आर्थिक प्रलोभनमा पारी रेष्टुरेन्टमा बोलाएर बेश्यावृत्ति गराउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले छापामारी गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट ७ (सात) दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानले जानकारी दिनुभयो ।पक्राउ परेका महिलाहरुलाई भने प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ ।



















