कृष्णउदास खनाल
वीरगञ्ज,नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रवार गएको पहिरोले त्रिशुलीमा बगाएको बससँगै एउटै घरका ३ जना बेपत्ता भएपछि पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ को जमुनिया गाउँ यतिबेला शोकमग्न छ ।
सखुवा प्रसौनीका ५५ बर्षीय हृदयनारायण राउत छोरी २२ वर्षिय चन्द्रभवाको उपचारका लागि छिमेकी देश भारत पनि जाने सोचमा हुनुहुन्थ्यो तर त्यहाँ उपचार महँगो हुने भएपछि उहाँले काठमाडौं जाने सोच बनाउनुभयो र पत्नी भगवती देवीसहित छोरीको उपचारका लागि काठमाण्डौं जादैहुनुहुन्थ्यो ।
छोरीको उपचारकाको लागि वीरगञ्जबाट काठमाडौं चल्ने ०३००६ ख १५१६ नम्बरको रात्रिकालिन बसमा छोरा जयलाल राउतले तीनै जनालाई बस चढाए । तर, उपचार गर्न पनि नपाइ दिदीसहित बुवा र आमा चढेको बस त्रिशुलीमा बेपत्ता भएको खबरपछि अहिले जयलालसहित उहाँको परिवार र पूरै गाउँ शोकमा छ । चिन्तामा छ । उनीहरु पटक पटक भगवानसंग पुकार गरिरहेका छन्, कतै आफ्ना मुटुका टुक्राहरु आइहाल्छन् कि भनेर ।छोरीको पेटमा समस्या आएपछि रोपिसकेको ७ कठ्ठा खेत बन्धकी राखेर हृदयनारायण ५० वर्षीय श्रीमती भगवती देवी र बिरामी छोरी २२ वर्षीय चन्द्रभवा कुमारी त्यही बस चढेर काठमाडौं जादै थिए ।घरको आर्थिक अवस्था नाजुक थियो । छोरीको स्वास्थ्यमा पहिलेदेखि नै केही समस्या देखिए पनि उपचारको लागि आर्थिक जोह भने भइसकेको थिएन ।त्यसपछि हृदयनारायणले रोपिसकेको खेल साहुको बन्धकी राख्नुभयो । साहुले दिएको ऋण बोकेर काठमाडौँ गएका उनीहरुले काठमाडौंमा अस्पताल देख्न पाएनन् । राउतको घरको आर्थिक अवस्था निकै कमजोर रहेको स्थानीयहरु बताउँछन् । रोजगारीका लागि जेठा छोरा श्याम विनय राउत साउदी अरेबिया रहेको बुझिएको छ ।
दुईजना स्वास्थ्यकर्मी बेपत्ता
नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाएको एञ्जल बसमा सखुवा प्रसौनीका एकै परिवारका ३ जना सहित पाँचजना परेको पाइएको छ ।सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवका अनुसार स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर कलैया उपमहानगरपालिकाकी श्रृष्टि यादव र ल्याब असिस्टेण्ट सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कट्या डुबरवानाका रैफुल अन्सारी पनि बेपत्ता भएका छन् । शनिवार साँझसम्म उनीहरुको अवस्था अज्ञात रहेको छ ।



















