वीरगञ्ज, साउन २ — समाजको सुधारका लागि बनेको बाल सुधारगृहमै ठगीको चक्रव्यूह! सुधारगृहभित्र रहेका बाल कैदीबन्दीहरूमाथि धम्की दिँदै रकम असुलेको आरोपमा एकजना चौकीदार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा, लहान नगरपालिका–३ का २४ वर्षीय प्रमानन्द गुप्ता रहेका छन्। उनी सुधारगृहमा चौकीदारको रूपमा कार्यरत थिए र लागू औषध सम्बन्धी मुद्दामा कैद भुक्तान गर्दै आएका थिए।
प्रहरीका अनुसार, गुप्ताले सुधारगृहमा रहेका १० जना बाल बन्दीहरूमाथि दबाब र धम्की दिँदै विभिन्न समयमा इसेवा र नगदमार्फत करिब १० लाख १५ हजार रुपैयाँ असुलेका थिए। कैद अवधि सकिएर बुधबार छुट्न लाग्दा बाल कैदीहरूले घटना सार्वजनिक गरेका थिए।
घटनापछि गुप्तालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन्। अहिले उनलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (Extortion) सम्बन्धी कसुरमा म्याद थप गर्दै अनुसन्धान भइरहेको छ।
सुधारगृहकै कर्मचारीद्वारा यस्तो संगीन अपराध उजागर भएपछि, सुधारगृह प्रशासनको निगरानी र पारदर्शिता प्रणालीप्रति गम्भीर प्रश्न उठेको छ।



















