वीरगञ्ज – वीरगञ्जमा विद्युतीय सवारी (ईभी) को ठक्करबाट बुधबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज– १६ नगवा की ४५ वर्षीया मिराकुमारी गुप्ता रहेकी छन् । प्रहरीका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०७२० नम्बरको ईभीले पैदल हिँडिरहेकी गुप्तालाई ठक्कर दिएको थियो । दुर्घटनामा उनको टाउको, दाहिने खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
दुर्घटनामा घाइते गुप्ताको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिनुभयो । दुर्घटनापछि प्रहरीले ईभी र सिन्धुलीको कमलामाई नगरपालिका– २ निबुवाटारका ६० वर्षीय चालक रामकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

















