वीरगञ्ज,शैक्षिक सहिद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले नेपाल प्रौढ संघ (वृद्धाश्रम) वीरगञ्ज– १६ नगवाको सहयोगमा शनिवार वृद्धाश्रम परिसरमा वृक्षारोपण गरेको छ ।शैक्षिक सहिद मुकुन्दप्रसाद खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा वीरगञ्ज महानगर वडा नम्बर १६ का वडाध्यक्ष परशुराम चौरसिया प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिहरुमा नारायणी क्षेत्रीय अस्पतालका पूर्वमेसु डा. विरेन्द्र प्रधान, नेपाल प्रौढ संघका अध्यक्ष नन्द राउत अहिर, समाजसेवी प्रकाश उपाध्याय लगायत नेपाल प्रौढ संघका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि चौरसियाले वातावरण संरक्षणमा वृक्षारोपण कार्यक्रमको महत्वलाई उजागर गर्दै आयोजक प्रतिष्ठान परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले समाजका जेष्ठ नागरिकहरूको सेवा र संरक्षणमा आफू सधैं तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।कार्यक्रमका बिशिष्ट अतिथि प्रधानले वृद्धाआश्रम स्थापनामा देखाएको सपना साकार भएको देख्दा भावुक बनेको बताउनुभयो । प्रतिष्ठानका वरिष्ठ सल्लाहकार उपाध्यायले वृक्षारोपणको उद्देश्य प्रकृति संरक्षण रहेको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई प्राथमिकता दिने बताउनुभयो ।अध्यक्ष मुना खनालले सबैलाई रुख रोपेर वातावरण जोगाउन आग्रह गर्दै सहभागीहरूलाई धन्यवाद दिनुभयो । कार्यक्रममा सहभागीलाई दही, चिउरा, र आँप खुवाईएको थियो । स्वागत मन्तव्य प्रौढ संघका उपाध्यक्ष अनिल रिजालले गर्नुभएकोथियो भने कार्यक्रमको सहजीकरण कोषाध्यक्ष श्रवणबहादुर रायमाझीले गर्नुभएको थियो ।
















