काठमाण्डौ – काठमाण्डौबाट गोरखाको लागि छुटेको ट्याक्सी शनिवार बिहान त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका पाँच जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा ट्याक्सी चालक गोरखा नगरपालिका– ७ का ३५ वर्षीय अर्जुन सिर्मल, त्यहीँ ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । दुर्घटनामा १८ वर्षका दिवस रोकाय बेपत्ता भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार काठमाण्डौको पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार सकेर गोरखा फर्किदै गर्दा ट्याक्सी दुर्घटना भएको हो । गोरखा फर्किदै गरेका तीनवटा गाडीमध्ये अरु दुईवटा गाडी मुग्लिन पुगेपछि ट्याक्सीलाई कुर्दा नआएपछि प्रहरीमा खबर पुगेको थियो ।

खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा खसेको भेटिएको रिमालले जानकारी दिनुभयो ।
बिहान सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका– ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

Leave a Reply