निजगढ,सरकारी कागज पत्र किर्ते गरेर प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति लिएका बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालमाथि सम्बन्धित निकायले अझै पनि कारबाही गरेको छैन ।
नगरपालिकामा अधिकृत सातौँ तहमा कार्यरत जयसवालले सरकारी कागजात किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गरेको भन्दै नगरप्रमुख किशोरी कलवारले एक साताअघि दर्ता गरेको उजुरीमा अझै पनि कारबाही नभएको हो । कागज पत्र किर्ते गरेको अभियोगमा नगर प्रमुख कलवारले उनीमाथि जिल्ला प्रहरी कार्यालय बारासहित अख्तियार अनुसन्धान आयोग र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमासमेत उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालय बाराले भने नगर प्रमुख कलवारले दिएको लिखित जाहेरी दर्तासमेत नगरेको बताइएको छ ।

०७८÷०७९ मा स्वास्थ्य शाखा प्रमुख जयसवाल सिम्रौनगढ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतसको जिम्मेवारीमा रहँदा उनलाई माछापोखरी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको मुद्दामा सफाइ पाएका जयसवालले सिम्रौनगढ नगरपालिकाका नगरप्रमुखसंग आफू आर्दश कोतवाल गाँउपालिकामा काज सरुवा भई जान तयार भएको तथा आर्दश कोतवाल गाँउपालिकाले समेत सहमती पत्र दिएको हुँदा सोको पत्र बनाई स्वास्थ्य मन्त्रालयमा पठाउनका निम्ति आग्रह गरेकोमा सोही अनुसार सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख कलवारले ०८१ वैशाख २४ गतेको चलानी नम्बर १३८० बाट पत्र दिनुभएको थियो । तर जयसवालले सोही पत्रलाई प्रविधिको प्रयोग गरी आर्थिक तथा प्रशासनिक सहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि नगरपालिकाले सहमति दिएको व्यहोरा थपेर ०८१ वैशाख २४ गतेको चलानी नम्बर १३८० बाट नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेका थिए । जयसवालको प्रभावमा परेर मन्त्रालयका केही कर्मचारीलाई समेत सो पत्रको आधिकारिकता नहेरी उनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाएको थियो ।

प्रमुख प्रशासकीय अधिकृतको रुपमा सिम्रौनगढमा हाजिर भएपछि भने जयसवाललाई कसरी जिम्मेवारी दिइयो भनेर खोजबिन शुरु भएको थियो । यही क्रममा मन्त्रालयमा पेस गरेको पत्रहरु किर्ते भएको खुलेको हो । नगरपालिकाले काज÷सरुवा सहमति दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको पत्रलाई जयसवालले प्रविधिको प्रयोग गरी किर्ते व्यहोरा थपेको पाइएको हो । यसैगरी जयसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुखको हस्ताक्षरसमेत किर्ते गरी मन्त्रालयमा पेस गरेको पनि खुल्न आएको थियो ।

‘यस घटनाको जानकारी पाउनेबित्तिकै मैले उनको तोकिएको जिम्मेवारी बदर गर्न र सरकारी कागजको किर्ते गरेकोमा उनलाई कानुनी कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री भानुभक्त जोसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र कोष तथा लेखा निरीक्षण कार्यालय, कलैया बारालाईसमेत पत्रचार गरी जानकारी गराएको थिएँ,’ नगरप्रमुख कलवारले भन्नुभयो, ‘तर यस्तो गम्भीर प्रकृतिको घटनामा कुनै पनि निकाय शंवेदनशील बनेको छैन ।’ उहाँले घटनालाई समान्य रुपमा हेरिन नहुने र दोषिमाथि कानुनी कारबाही गरिनुपर्ने पनि बताउनुभयो ।

नगरप्रमुख कलवारले यस घटनाको जानकारी मन्त्रालयमा गराएपछि सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई घटनाको सत्यतथ्य पता लगाउन निर्देशन दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारी पत्र किर्ते गरेर प्रमुख प्रशासकीय अधिकृत बनेको सूचना प्राप्त हुनासाथ बाराका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई घटनाको अनुसन्धान गर्न निदेशन दिएको छु । अब सिम्रौनगढमा नयाँ उपसचिवलाई पठाउने प्रक्रिया शुरु भएको छ ।’

तर उहाँले भने जस्तो जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यलय बाराले भने सरकारी पत्र किर्ते गर्ने जयसवाललाई कर्वाही गर्न सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख कलवारले दिएको जाहेरी दर्ता समेत गरेको छैन ।
यता बाराका प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि घटनाको अनुसन्धान सुरु गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जाहेरी दर्ता भयो भएनभन्दा पनि अनुसन्धान भयो या भएन यो महत्वपुर्ण कुरा हो, प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । सक्कली कागजपत्र मन्त्रालयबाट ल्याउने काम हुदै छ । घटनालाई पुष्टि गर्ने प्रमाण जुटाउने काम भइरहेको छ ।’
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र खड्काले पनि घटनाको अनुसन्धान शुरु भएको बताउनुभएको छ । ‘प्रहरीले अनुसन्धान गरेन भन्नु बेकार छ, हामीले आफ्नो काम शुरु गरेकै कारण मन्त्रालयबाट सक्कल काजगपत्र छिकाउने कार्य भइसकेको छ ।’

Leave a Reply