वीरगञ्ज,माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को हालै सार्वजनिक भएको नतिजाअनुसार यस वर्ष पर्सा जिल्लाबाट ३६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् ।शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्साका अनुसार यस वर्ष जिल्लाभारिबाट ३६ दशमलब ४२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् । गत वर्षको चैत्र १७ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा जिल्लाभरबाट ९ हजार ५२१ जना विद्यार्थीले एसईई परीक्षामा सामेल भएका थिए ।

उनीहरुमध्ये ३ हजार ४६८ जना विद्यार्थीमात्र उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी मध्ये ६३ दशमलव ५८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (एनजी) भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोतीप्रसाद भट्टराईकाअनुसार यस वर्ष साधारणतर्फ ९ हजार ३३८ जना र प्राविधिक धारतर्फ १८३ जना गरी ९ हजार ५२१ जना परीक्षार्थी एसईईमा सहभागी थिए ।जसमध्ये साधारणतर्फ ३ हजार ३७७ जना अर्थात् ३६ दशमलव परीक्षार्थी उत्तीर्ण भएका हुन् । कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्राविधिक धारतर्फको नतिजा जिल्लाभरबाटै उत्कृष्ट छ । त्यसतर्फ जिल्लाका ९१ जना अर्थात् ४९ दशमलव ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।यसैगरी स्तरवृद्धितर्फ सहभागी ५६३ जना विद्यार्थीमध्ये ३८३ अर्थात् ६८ दशमलव ०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका प्रमुख भट्टराईले बताउनुभयो ।

Leave a Reply