सिमरा,बहुमत कार्यपालिका सदस्य र नगर प्रमुख राजन पौडेलबीच बजेट बाँडफाँडमा सहमति हुन नसकेपछि २ पटकसम्म स्थगित भएको जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको तेस्रो बैठक सोमवार आयोजना हुदैछ ।
तेस्रो बैठकमा पनि गणपूरक नपुगे के हुन्छ भने नगरवासीमा जिज्ञासा व्यप्त छ । आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न बोलाइएको बैठकमा नगर प्रमुख पौडेल सभाका २५ प्रतिशत सदस्यहरुको उपस्थितिमा बजेट पारित गर्ने पक्षमा देखिनुभएको छ भने कार्यपालिका सदस्यहरु सो सख्या पुग्न नदिने योजनामा छन । यसको लागि दुबै पक्षले भित्रीरुपमा कसरत गर्दैअएको बताइएको छ ।
नगरप्रमुख पौडेलले आइतवार सूचनामार्फत नगर सभा सदस्यहरुलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको छ । त्यसैगरी उहाँले प्रमुख दलको नगर प्रमुखहरुलाई पत्र पठाएर नगर सभा सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्थाको बारेमा जानकारी पनि गराउनुभएको छ । नगर प्रमुख पौडेलले सो पत्रको बोधार्थ पार्टीको केन्द्रीय कार्यालयमा पनि पठाउनुभएको छ । यसबाट नगर प्रमुख पौडेल कार्यपालिका सदस्यहरुको माग पुरा गर्नुभन्दा पनि उनीहरुमाथि नैतिक दवाब खडा गरेर आफ्नो प्रस्तावको पक्षमा सहमत गराउने रणनीतिमा लाग्नुभएको बुझिएको छ ।
उता, असन्तुष्ट कार्यपालिकाका सदस्यहरुले भने तेस्रो पटकको नगर सभामा पनि आवश्यक संख्या पुग्न नदिने रणनीति बनाएका छन । यसको लागि आइतवार उनीहरुले कार्यपालिका सदस्य र दलका प्रतिनिधिहरुसंग छलफल गरेका थिए ।
पहिलो बैठक स्थगित भएको तीन दिनभित्र बस्ने गरी दोस्रो बैठक र दोस्रो बैठक पनि स्थगित भएमा दुई दिनभित्र बस्ने गरी तेस्रो बैठक आहवान गर्नुपर्ने नियमावलीको व्यवस्था अनुसार नगर प्रमुख पौडेलले असार १० गतेका लागि तेस्रो बैठक बोलाउनुभएको हो । उक्त बैठकमा पनि २५ प्रतिशत संख्या उपस्थित नभएमा नगरसभा फेरि पनि स्थगित हुनेछ ।
२५ प्रतिशतका लागि हाल कायम एक सय २२ नगरसभा सदस्य संख्यामध्ये ३१ जना उपस्थित हुनुपर्नेछ । तर नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नभएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट निर्वाचित अधिकांश सदस्यले नगरसभा बहिष्कार गर्दै आएका छन् । नगरसभामा उपप्रमुखसहित नेकपा एमालेका ६९, नेपाली कांग्रेसका २३, प्रमुखसहित नेकपा माओवादी केन्द्रका २०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ६ र नेकपा एकीकृत समाजवादीका चार सदस्य छन् ।
नेकपा माओवादी केन्द्रबाहेक अन्य पार्टीबाट निर्वाचित अधिकांश सदस्य असार ५ र ८ को दुवै बैठकमा पनि देखिएनन् । आफ्नै पार्टीबाट निर्वाचित सभा सदस्यहरुमा देखिएको असन्तुष्टिले गर्दा नगर प्रमुख पौडेलमाथि तेस्रो बैठकमा सभा सम्पन्न गर्ने चुनौति छ । तर हाल विपक्षमा देखिएका दलबाट निर्वाचित केही वडा अध्यक्ष र वडा सदस्यलाई उपस्थित गराएर भए पनि तेस्रो बैठकमा सभा सम्पन्न गर्ने दाउमा पौडेल देखिनुभएको छ ।
माओवादी केन्द्रका २० सहित सभा सम्पन्न गर्न पौडेललाई अन्य पार्टीबाट निर्वाचित थप ११ जना नगरसभा सदस्यको आवश्यकता पर्छ । जीतपुरसिमरामा २५ प्रतिशतका लागि हाल कायम एक सय २२ नगरसभा सदस्य संख्यामध्ये ३१ जना उपस्थित हुनुपर्नेछ ।
नेपालको संविधानको धारा २३० मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक आर्थिक वर्षको राजश्व र व्ययको अनुमान स्थानीय कानुन बमोजिम गाउँ सभा वा नगर सभामा पेस गरी पारित गराउनुपर्ने व्यवस्था रहेको छ ।त्यसैगरि आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र नगर सभामा पेश गर्नु पर्नेछ । र असार मसान्तभित्र पारित गरिसक्नु पर्ने उल्लेख छ ।तेस्रो बैठकमा पनि गणपूरक संख्या नपुगे पटक–पटक बैठक राख्न पाउने र २५ प्रतिशतको उपस्थिति भएपछि बैठकमा बजेट प्रस्तुत गर्नसक्ने कानुन व्यवसायीहरु बताउँछन् ।आगामी आर्थिक वर्षको लागि नगर प्रमुख पौडेलले वडाको सिलिङ्ग घटाएर कुल बजेटको ५० प्रतिशत नगर प्रमुखको निर्देशनमा खर्च हुने व्यवस्था गरेपछि कार्यपालिका सदस्यहरुमा असन्तुष्ट बनेका हुन । नगर प्रमुख पौडेलले बाँकी ५० प्रतिशतमा पनि उपप्रमुखको माताहातमा २५ र वडा कार्यालयहरुमा २५ प्रतिशतले बाँडफाँड गर्ने योजना अघि सार्न लाग्नुभएको बताइएको छ ।


















