काठमाण्डौ – नेकपा एमालेले शुक्रवारदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका लागि आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव केन्द्रित एजेन्डाहरू तय गरेको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी पोलिटब्युरो बैठकले आउँदो चुनावको तयारीमा केन्द्रित भइ भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको हो ।

एमालेको केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बस्दैछ । त्यही बैठकमा लागि आउँदो चुनाव केन्द्रित एजेन्डाहरू पार्टी पोलिटब्युरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा बताउनुभयो । उहाँका अनुसार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा सामूहिक छलफल गरी प्राप्त सुझावलाई समावेस गरी पारित गरिनेछ ।

त्यसैगरी बैठकमा सात वटै प्रदेशका प्रदेश कमिटीका अध्यक्षहरूले आ–आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्रको अवस्थासहितको रिर्पोटिङ गर्नेछन् । सचिव भट्टराईले आउँदो चुनावमा पार्टीको अवस्थाबारे त्यो रिर्पोटिङले पनि जानकारी गराउने भएकाले प्रदेश कमिटीका अध्यक्षहरूको रिर्पोटिङको विषयलाई पनि केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाइएको बताउनुभयो । बैठकमा चुनावका लागि घोषणापत्र बनाउने कुरालाई पनि एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ ।

एमालेको केन्द्रीय कमिटी बैठकले आउँदो चुनावका लागि उम्मेदवारहरूको मापदण्ड पनि तय गर्नेछ । पोलिटब्युरो बैठकले पार्टीप्रति प्रतिबद्ध, राजनीतिक, वैचारिक हिसाबले स्पष्ट, जित्न सक्ने, सिनियर र लोकप्रियलाई उम्मेदवार बनाउने निर्णय गरेको र त्यही विषयमा पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने सचिव भट्टराईले बताउनुभयो ।

बैठकले केन्द्रीय कमिटी बैठकमा फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीका नेता घनश्याम भुसालले फरक मत प्रस्तुत गर्ने तयारी गरिरहेका बेला एमाले सचिव भट्टराईले केन्द्रीय कमिटी बैठकमा पनि त्यसबारे छलफल हुने बताउनुभयो ।

पार्टीलाई एकताबद्ध राख्दै आजका चुनौतीहरूको सामना गरेर अघि बढ्ने गरी केन्द्रीय कमिटी बैठकमा छलफल हुने एमालेले जनाएको छ ।

Leave a Reply