सिमरा,नेकपा एमालेका प्रमुख सचेतक एवम् प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गोली लागेर मृत्यु भएका सुकबहादुर तितुङको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ ।प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बर्तौलाले मृतक तितुङको परिवारलाई क्षतिपूर्ति र घटनाको छानविन गर्दै दोषीमाथि कारबाहीको माग गर्नुभएको हो ।
सांसद बर्तौलाले सामान्य मानवीयता समेत नराखी छातीमा गोली हानेर तितुङको हत्या गरेको र गणतन्त्रमा नागरिकलाई दिनदहाडै हत्या गर्न नपाइने भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ घर भएका तितुङको असार ७ गते निकुञ्ज क्षेत्रभित्र सेनाको गोली लागेर मृत्यु भएको थियो । हतियारसहित निकुञ्ज प्रवेश गरेको समूहसंग गस्तीमा रहेको सेनाको टोलीबीच मुठभेड हुँदा एकको मृत्यु भएको जानकारी निकुञ्जले गराएको थियो । निकुञ्जले तितुङ्ग चोरीसिकारी समूहको सदस्य भएको दाबी गर्दैआएको छ ।
















