पुष्पराज खतिवडा
मनहर्वा,नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवंम पूर्व पप्रधानमन्त्री ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अस्थिर बन्दा देशको राजनीति पनि अस्थिर बनेको बताउनुभएको छ ।सोमबार बाराको कलैयामा मिसन ग्रासरुट अभियानअन्तर्गत एमाले बारा जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले मूलुकको राजनीति अस्थिर बन्दा देश पनि पछाडि पर्ने बताउनुभयो ।‘प्रचण्डको कार्यशैली अस्थिर दखियो, उपाध्यक्ष पोखरेलले भन्नुभयो, आफु र आफ्नालाई केन्द्रमा राखेर राजनीतिलाई कमजोर ढंगले लिने स्वभाव देशका लागि हानिकारक सिद्ध हुँदैछ ।’ उहाँको अस्थिर स्वभावका कारण देशले समस्या भोग्दै आएको र आगामी दिनमा देशमा थप समस्या उत्पन्न हुने पनि बताउनुभयो । नेता पोखरेलले माओवादी अध्यक्ष प्रचण्डमा दक्षिणपन्थी अवसरवादी चरित्र हाबी रहेको आरोप पनि लगाउनुभयो ।नेकपा एमाले विकास र समृद्धिका पक्षमा अडिक बन्दा प्रचण्डलाई त्यो कुरा सह्य नभएको बताउदै उहाँले एमाले जहिले पनि देश र जनताको पक्षमा उभिरहने पनि बताउनुभयो ।‘जनसरोकारका विषयमा भन्दा सत्ता स्वार्थमा रमाउन चाहनेहरुको गठजोडको वर्तमान सरकारले देशलाई कमजोर बनउने छ, उहाँले भन्नुभयो, तर एमालेले कुनै पनि अवस्थामा देशद्रोही र जनविरोधी काम हुन दिने छैन, खबरदारी गर्ने छ ।’सरकारले देश र जनताको विपक्षमा कदम चाले एमाले पनि टुलुटुलु हेरेर नबस्ने बरु त्यसको प्रतिकार गर्ने उहाँको भनाइ थियो । उहाँले बलियो प्रतिपक्षको रुपमा सदनमा रहेको एमालेले विकास, समृद्धिका विषयसँगै जनताका समस्यालाई संधै केन्द्रमा राखेर काम गर्ने उहाँले बताउनुभयो ।नेकपा एमाले बाराकी उपाध्यक्ष टिना सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले मधेस प्रदेश ईन्चार्ज केन्दीय सचिव रघुविर महासेठ, सहईन्चाज एवं पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वालाकुमारी साह, अच्युत मैनाली लगायतले प्रशिक्षण दिएका थिए । वक्ताहरुले एमालेलाई जनताबीच थप लोकप्रिय पार्टीका रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिँदै कार्यकर्तालाई कटिबद्ध भई पार्टी काममा लाग्न आग्रह गरे । कार्यक्रमको संचालन एमाले जिल्ला कमिटी सचिव अध्यानन्द पाण्डेले गर्नुभएको थियो ।















