सिमरा,आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न शनिवारको लागि बोलाइएको जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको दोस्रो बैठक पनि स्थगित भएको छ । सभा संचालनका लागि आवश्यक गणपूरक संख्या नपुगेपछि दोस्रो बैठक पनि स्थगित भएको हो ।
नगर प्रमुख राजन पौडेलले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (२) बमोजिम आवश्यक संख्या नपुगेको भन्दै बैठक स्थगित गर्नुभएको थियो । योसहित नगरसभा बैठक २ पटक स्थगित भइसकेको छ । यसअघि असार ५ गतेका लागि बोलाइएको पहिलो बैठक गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।जीतपुरस्थित प्राइम पार्टी प्यालेसमा आयोजित सभा स्थगित गर्दै नगर प्रमुख पौडेलले असार १० गतेका लागि तेस्रो बैठक बोलाउनुभएको थियो । पौडेलले नगरसभा संचालन नियमावली २०७५ को दफा ५ को उपदफा (३) बमोजिम तेस्रो बैठक आहवान गनुृभएको हो ।
उक्त उपदफाले २५ प्रतिशत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने व्यवस्था गरेको छ । उपदफा (१) र उपदफा (२) मा भने ५० प्रतिशत भन्दा बढी सदस्यको उपस्थितिमा मात्रै नगरसभा बस्ने सक्ने प्रावधान छ । पहिलो बैठक स्थगित भएको तीन दिनभित्र बस्ने गरी दोस्रो बैठक र उक्त दोस्रो बैठक पनि स्थगित भएमा दुई दिनभित्र बस्ने गरी तेस्रो बैठक आहवान गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।
सोही अनुसार नगर प्रमुख पौडेलले असार १० गतेका लागि बैठक बोलाउनुभएको थियो । उक्त बैठकमा पनि २५ प्रतिशत संख्या उपस्थित नभएमा नगरसभा फेरि पनि स्थगित हुनेछ । २५ प्रतिशतका लागि हाल कायम एक सय २२ नगरसभा सदस्य संख्यामध्ये ३१ जना उपस्थित हुनुपर्नेछ ।
तर नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नभएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट निर्वाचित अधिकांश सदस्यले नगरसभा बहिष्कार गर्दै आएका छन् । नगरसभामा उपप्रमुखसहित नेकपा एमालेका ६९, नेपाली कांग्रेसका २३, प्रमुखसहित नेकपा माओवादी केन्द्रका २०, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ६ र नेकपा एकीकृत समाजवादीका चार सदस्य छन् ।नेकपा माओवादी केन्द्रबाहेक अन्य पार्टीबाट निर्वाचित अधिकांश सदस्य असार ५ र ८ को दुवै बैठकमा देखिएनन् । आफ्नै पार्टीबाट निर्वाचित सभा सदस्यहरुमा देखिएको असन्तुष्टिले गर्दा नगर प्रमुख पौडेलमाथि तेस्रो बैठकमा सभा सम्पन्न गर्ने चुनौति छ । तर हाल विपक्षमा देखिएका केही वडा अध्यक्ष र वडा सदस्यलाई उपस्थित गराएर भए पनि तेस्रो बैठकमा सभा सम्पन्न गर्ने दाउमा पौडेल देखिनुभएको छ ।माओवादी केन्द्रका २० सहित सभा सम्पन्न गर्न पौडेललाई अन्य पार्टीबाट निर्वाचित थप ११ जना नगरसभा सदस्यको आवश्यकता पर्छ । तर अन्य पार्टीबाट निर्वाचित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले भने नगर प्रमुखले आफूहरुको मागका विषयमा छलफल नगरेसम्म नगर सभामा उपस्थित नहुने र अन्य सदस्यलाई समेत उपस्थित नगराउने अडान लिदै आएका छन् ।


















