कलैया ।  बिजुलीको लगातार अव्यवस्थाबाट आजित बनेका बाराका स्थानीय नागरिकहरूले बिहीबार कलैयामा जोरदार प्रदर्शन गरेका छन्। लामो समयदेखि नियमित विद्युत आपूर्ति नहुँदा दैनिकी प्रभावित भएको भन्दै सचेत नागरिक समूह सडकमा उत्रिएको हो।

विद्यार्थीदेखि कृषक, अस्पतालदेखि व्यापारीसम्मको जनजीवन अस्तव्यस्त भएपछि नागरिकहरू “लोडसेडिङ हटाउ, जनतालाई उज्यालो देउ” भन्ने नारासहित प्रदर्शनमा उत्रिए।

नेपाल विद्युत प्राधिकरणको कलैया वितरण केन्द्रमा समस्या समाधानको माग राख्दै ज्ञापनपत्र बुझाउन गएका प्रदर्शनकारीहरू त्यहाँका प्रमुख अनुपस्थित रहेको थाहा पाएपछि थप आक्रोशित बने। कार्यालय बाहिरै नाराबाजी र जुलुस गरिएको थियो।

प्रदर्शनको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्ला सभापति चन्दन स्वर्णकारले गरेका थिए। “सरकारले जनताको पीडामा ध्यान दिनुपर्छ, यो लोडसेडिङ होइन, जनताको अपमान हो,” स्वर्णकारले बताए।

प्रदर्शनको क्रममा प्रहरी र नागरिकबीच केहीबेर भनाभनसमेत भएको थियो। स्थिति तन्किँदै जाँदा स्वर्णकारसहित विक्रम यादवलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएको थियो, तर अवस्था शान्त भएपछि उनीहरूलाई रिहा गरिएको हो।

स्वर्णकारका अनुसार यो समस्या व्यक्तिगत नभई सम्पूर्ण बारावासीको साझा पीडा बनिसकेको छ। “सधैं बिजुली छैन, सेवा ठप्प छ, अब बोल्न बाध्य भयौं,” उनले भने।

प्रदर्शनमा भोला साह कानु, सञ्जीव यादव, लालमुकेश ठाकुर, विनय जैसवाल, उमेश महतो, कबिराज चौधरी, प्रमोद सर्राफ, ज्याउद्दिन अन्सारी, आबिद मन्सुर, राजीव यादवलगायत दर्जनौं सेवाग्राहीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूले समयमै समस्या समाधान नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

Leave a Reply