वीरगञ्ज,लघुवित्त तथा वित्तीय संस्था पीडितहरूले वीरगञ्जमा प्रदर्शन गरेका छन् । लघुवित्त तथा वित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपाल जिल्ला कार्यसमिति पर्साले जिल्ला प्रशासन कार्यालय पर्साको प्रवेशद्वारमा बिहीवार विरोध जनाएका हुन् ।लघुवित्तीय संस्थाहरूको आर्थिक गतिविधिहरू र त्यसले निम्न वर्गमा पारेको प्रभावले उत्पन्न गरेको समस्याले भयावहक रुप लिएपछि विरोधमा उत्रिनु परेको समितिले जनाएको छ ।

प्रदर्शनको क्रममा सहभागीहरूले “नव सामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर, “सामुहिक ऋण मिनाहा गर, “आम गरिब किसानलाई निःशूल्क ऋण प्रदान गर, “समाजवादी अर्थतन्त्रको विकास गर, “जनपक्षीय मौद्रिक नीति लागू गर” लगायतका नारा लगाएका थिए ।प्रदर्शनकारीहरू लघुवित्तीय संस्थाहरूलाई नव सामन्ती व्यवस्थाको एक रूप मानिरहेका छन् जसले गरिब र निम्न वर्गलाई अझै कमजोर बनाएको छ । सामुहिक ऋणले जनताको आर्थिक अवस्थामा झनै भार थपेको भन्दै ऋण मिनाहा गरिनुपर्ने पनि उनीहरुको माग छ ।

गरीब किसानहरूको आर्थिक अवस्था सुधार्नका लागि उनीहरूलाई निःशूल्क ऋण उपलब्ध गराइनुपर्ने ज्ञापन पत्रमार्फत माग गरिएको छ । मौद्रिक नीतिहरू जनपक्षीय हुनुपर्ने र तिनीहरूले सर्वसाधारणको हितमा काम गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् ।
प्रदर्शनको क्रममा जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । कुनै अप्रिय घटना हुन नदिनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले बताएको छ । प्रदर्शनकारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री एवम् गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्रमा पिडितहरूको समस्या र तिनको समाधानका लागि सुझाइएका उपायहरूको विवरण समावेश गरिएको छ ।लघुवित्तीय संस्थाहरूले ग्रामीण क्षेत्रमा ससाना ऋण उपलब्ध गराउँदै आएका छन् । तर, यिनै संस्थाहरूको उच्च ब्याजदर र ऋण असुलीका कठोर नीतिहरूका कारण धेरै पिडितहरूलाई समस्यामा पारेको आरोप लागेको छ । गरिब तथा निम्न वर्गका मानिसहरू यो ऋणको भारले झनै दबिएका छन् र आर्थिक संकटमा परेका छन् । यसै कारणले गर्दा, यी संस्थाहरू विरुद्ध जनताको आक्रोश बढ्दै गएको छ र विरोध प्रदर्शनहरू हुँदै आएका छन् ।

Leave a Reply