सिमरा,आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न बिहीवारको लागि बोलाइएको जीतपुरसिमरा उपमहानगरपालिकाको दसौं नगरसभाको पहिलो बैठक स्थगित भएको छ । नगर प्रमुख राजन पौडेलले आवश्यक गणपूरक संख्या नपुगेको भन्दै पहिलो बैठक स्थगित गर्नुभएको हो ।
नगर प्रमुख पौडेलले असार ८ गतेका लागि दोस्रो बैठक पनि आह्वान गर्नुभएको छ । जीतपुरस्थित प्राइम पार्टी प्यालेसको सभाहलमा राखिएको पहिलो बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित नगरसभा सदस्य उपस्थित भएनन् ।नगर प्रमुखले नीति तथा कार्यक्रम र बजेटको विषयमा कार्यपालिका बैठकमा छलफलनै नगरी नगरसभा गर्ने तयारी गरेको भन्दै ती पार्टीबाट निर्वाचित वडा अध्यक्ष र कार्यपालिका सदस्यले असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले यसअघि नै नगरसभाको बैठक बहिष्कार गर्ने घोषणा गरेका थिए ।
नगरसभाको विषयमा बुधवार उपमहानगरपालिकाको कार्यालयमा बसेको कार्यपालिका बैठकमा २५ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न बाँकी रहेकाले नगरसभाको अर्को मिति तोक्न नगर प्रमुखलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । कार्यपालिका सदस्यको असन्तुष्टिपछि स्थगित भएको कार्यपालिका बैठक बिहीवार बिहानका लागि पुनः बोलाइएको थियो ।
तर उक्त बैठकमा नगर प्रमुख पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारी उपस्थित हुनुभएको थिएन । छलफलका लागि बोलाइएको कार्यपालिका बैठकमा नगर प्रमुख र उपप्रमुख अनुपस्थित भएपछि कार्यपालिका सदस्यले सभाहलमै पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्टि पोखेका थिए ।‘हामीलाई छलफलका लागि भनेर बिहान ९ बजे बोलाइयो । तर उहाँहरु (नगर प्रमुख, उपप्रमुख) आउनुभएन’ जीतपुरसिमरा १६ का वडाध्यक्ष हरिदेव खरेलले भन्नुभयो, ‘कार्यपालिकालाई यसरी बेवास्था गरेर कसरी नगरसभा हुन्छ ?’ आफूहरुले नगरसभाको विरोधभन्दा पनि कार्यपालिकामा नीतिगत ढंगले छलफल गरेर अघि बढ्नुपर्छ भन्ने माग राखेको वडा अध्यक्ष खरेलको भनाई थियो ।
नगर प्रमुखले बजेटको ५० प्रतिशत नगरमा राख्ने र केही प्रतिशत बजेट वडामा वितरण गर्ने तयारी गरिरहेको भन्दै खरेलले विरोध गर्नुभएको थियो । चालु आर्थिक वर्षमा वडाबाट विनियोजित बजेट पूर्णरुपमा कार्यान्यवन भएको र नगरमा प्राप्त संघीय सरकारको झण्डै २३ करोड बजेट फ्रिज हुने अवस्थामा पुगेको भन्दै खरेलले एक सय प्रतिशत कार्यान्यवन हुने वडाको बजेटलाई खुम्च्याउने प्रयास भइरहेको बताउनुभयो ।
जीतपुरसिमरा वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्लेले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि छलफल गर्नुपर्ने भएपनि नगर प्रमुख पौडेलले छलफल नगरी नगरसभा गर्न लागेको आरोप लगाउनुभयो । ‘नीति तथा कार्यक्रम र बजेट ल्याउनुपूर्व छलफल हुनुपथ्र्यो तर छलफल नै नभईकन नगर प्रमुखले नगरसभा बोलाउनुभएको छ । जुन नगरसभा हामीले बहिष्कार गरेका छौ ।’ वाग्लेले भन्नुभयो, ‘छलफल गरेर सबैको सहमतिमा नगरसभाको आयोजना गरियोस् भन्ने हाम्रो माग हो ।’जीतपुरसिमरा वडा नम्बर ९ का वडा अध्यक्ष मोतिलाल यादवले पनि वडालाई विनियोजन गर्ने सिलिङ घटाउने तयारीप्रति असन्तुष्टि पोख्नुभएको थियो । ‘पहिला एक करोडको हाराहारीमा वडा सिलिङ पाएका थियौ तर अहिले ४०÷५० सिलिङ तोक्न लागिएको छ’ यादवले भन्नुभयोे, ‘त्यति बजेटबाट वडाको विकास कसरी गर्न सक्छौ ? हामीलाई पनि जनताले भोट दिएर जिताएका छन् । काम गर्न सकेनौ भने कसरी वडामा बस्न सकिन्छ ?’कार्यपालिकामा प्रतिनिधित्व गर्ने अधिकांश सदस्यले सहमतिको वातावरणमा नगरसभा गर्न नगर प्रमुखसंग आग्रह गरेका थिए । नगर प्रमुखले कार्यपालिकालाई बेवास्था गरेर अघि बढ्न नहुने तर्क उनीहरुले राखेका थिए । पत्रकार सम्मेलनमा एमाले, कांग्रेस, लोसपाका वडा अध्यक्ष र कार्यपालिका सदस्य उपस्थित थिए ।
यता नगर प्रमुख पौडेलले भने संविधान र नगरसभा संचालन ऐनले तोके वमोजिम नगरसभा तय भएको बताउनुभयो । नगरसभाका लागि आफूले मंसिर देखिनै विषयगत समिति र कार्यपालिका सदस्यलाई तयारी गर्न आग्रह गर्दै आएको भए पनि त्यतिबेला चासो नदिएको नगर प्रमुख पौडेलको भनाई छ ।नगरसभाको अन्तिम समयमा आएर बजेटको बार्गेनिङ गर्ने समस्या विगतमा पनि देखिएको भन्दै नगर प्रमुख पौडेलले ठूला योजना ल्याए त्यसलाई अघि बढाउन आफू तयार रहेको बताउनुभयो । यसपटक टुक्रे र वितरणमुखीभन्दा पनि प्रभावकारी र परिणाममुखी योजना ल्याउने तयारी रहेको पौडेलको भनाई छ ।‘टुक्रे र वितरणमुखी योजनाको कार्यान्यवन शतप्रतिशत छ । तर नतिजा शुन्य छ’ पौडेलले भन्नुभयो, ‘यसपटक त्यस्ता योजनालाई कटौती गरेर ठूला योजना ल्याउने प्रयास गरिरहेका छौं । त्यसो गर्न लाग्दा विरोधभन्दा समर्थन गर्न आवश्यक छ ।’
नगर प्रमुख पौडेलले असार ८ गतेका लागि बोलाइएको नगरसभामा उपस्थित भएर सभा सफल बनाउन आग्रह गर्नुभएको छ । पौडेलले जीतपुरसिमराको नगरसभा संचालन नियमावलीको दफा ५ को उपदफा (२) वमोजिम दोस्रो बैठक बोलाउनुभएको हो ।उपदफा (२) मा पहिलो नगरसभा बैठकमा गणपूरक संख्या अर्थात ५० प्रतिशतभन्दा बढी सदस्य उपस्थित नभएमा तीन दिनभित्र बस्ने गरी अर्को बैठक बोलाउनुपर्ने प्रावधान छ । दोस्रो बैठकमा पनि गणपूरक संख्या नपुगेमा उपदफा (३) वमोजिम दुई दिनभित्र बस्ने गरी तेस्रो बैठक बोलाउन सकिने व्यवस्था नियमावालीमा छ । तेस्रो बैठकमा गणपूरक संख्या नपुगेमा कुल सदस्य संख्याको २५ प्रतिशतको उपस्थितिमा नगरसभा बस्न सक्नेछ ।



















