पर्सा, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताउनुभएको छ ।नेकपा (एमाले)को पर्सा जिल्ला कमिटीले आइतवार जिल्लाको सखुवा प्रसौँनीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश र जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताउनुभयो ।
“हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु होइन, अब नागरिकको जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “मधेसका केन्द्रित राजनीतिक दलका नेताले संविधानकै धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ ।”
मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई आफूहरुले जोड दिएको उहाँको भनाइ थियो । “यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस्”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइएसकेको छ  । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरु पार्टीमा रहेका साथीहरुलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।”
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिने बताउनुभयो । उहाँले स्थानीयको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नति गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीहरुलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्यधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई सुझाव दिनुभयो ।
कार्यक्रममा सो गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायत विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका छन ।
गापा पूर्वअध्यक्ष एमाले प्रवेश
पर्सा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सा, सखुवा प्रसौँनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललगायतलाई आइतवार एमालेमा प्रवेश गराउनुुभएको छ ।एमालेको पर्सा जिल्ला कमिटीद्वारा वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो । जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा हुनुहुन्थ्यो ।  साथै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसबाट पनि एमालेमा प्रवेश भएको थियो । त्यसअवसरमा पर्साबासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर ३ का सङ्घीय सांसद एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको अभिनन्दन गर्नुभएको थियो । कार्यक्रममा एमालेको मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरु पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, मधेस प्रदेशको भौतिक पूर्वाधार मन्त्री सरोज यादव, मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply