पुष्पराज खतिवडा
बारा,२०७१ सालबाट निर्माण सुरु भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वा खानेपानी तथा सरसफाइ आयोजनाको काम अझै अलपत्र अवस्थामा छ ।संघीय सरकारको बजेटबाट निर्माण शुरु भएको सो आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि बजेट अभावमा अलपत्र बनेको हो ।
बडहर्वा खानेपानी आयोजनामात्रै होइन, मधेस प्रदेशमा सयौं आयोजनाको अवस्था उस्तै छ । प्रदेशमा हस्तान्तरण भएपनि यी आयोजनाहरु केन्द्र सरकारकै बजेटमा निर्भर छन । प्रदेश सरकारले हस्तान्तरण गरेर लिए पनि यस्ता योजनामा खर्च गर्ने कानुन नबन्दा संघीय सरकारको बजेटमा भर पर्नुपर्ने अवस्था उत्पन्न भएको हो ।संघीय सरकारबाट वार्षिक रुपमा निकै कम बजेट आउने भएकाले त्यस्ता आयोजनाहरु संचालनमा कठिनाइ भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका प्रमुख ईन्जिनियर किशोरीप्रसाद यादवले बताउनुभयो ।
ईन्जिनियर यादवका अनुसार संघीय सरकारको कार्यक्रम र बजेटबाट निर्माण सुरु भएको बडहर्वा खानेपानी आयोजना २०७५ सालमा मधेस प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । संघीय बजेटबाट ४ लाख ५० हजार लिटर क्षमताको एउटा ओभरहेड ट्याङ्की निर्माणसहित बोरिङ्ग गाड्ने काम, कम्पाण्ड वाल र कार्यालय भवन निर्माणको काम सम्पन्न भएको छ । केन्द्र सरकारले आयोजना प्रदेशमा बुझाए पनि बजेट भने केन्द्रले नै पठाउँदै आएको छ ।सोही कारण बडहर्वा लगायत जिल्लाका दर्जनौं खानेपानी आयोजनाबाट उपभोक्तालाई घरघरमा पानी वितरण गर्न नसकिएको उहाँको भनाई छ । उहाँले मधेस प्रदेशमा साना ठुला गरी ३ सय ९० वटा ति आयोजना अधुरो रहेको जानकारी दिनुभयो । ती आयोजना पूर्णरुपमा संचालनमा आउन अझै केही वर्ष लाग्ने पनि उहाँले सुनाउनुभयो । ‘पाइप बिछ्याएर उपभोक्ताहरुलाई पानी वितरण गर्न भने अझै केहीबर्ष समय लाग्छ ।’ उहाँको भनाई छ ।
केन्द्रले बार्षिक रुपमा थोरै बजेट पठाउँने गरेका कारण बारा जिल्लाकै सबैभन्दा ठुलो मानिएको यो आयोजना सम्पन्न गर्न समय लाग्ने भएको हो । ‘केन्द्रले अघिल्लो सिलिङ्गका आधारमा बजेट माग्नु भन्छ । हामीले सोही अनुसार पठाउनु पर्ने हुन्छ । जुन रकमले काम पुरा हुँदैन ।’ ईन्जिनियर यादवले भन्नुभयो ।
उहाँका अनुसार प्रदेश सरकारले केन्द्रीय सरकारको आयोजना जिम्मा लिएपछि अधुुरा योजनामा खर्च गर्ने गरी कानुन बनाएको छैन । यसतर्फ ध्यान नपुगेको पनि हुनसक्छ । केन्द्रले प्रदेशले गरिहाल्छ भन्ने, प्रदेशले केन्द्रले गर्छ भन्ने हुँदा उपभोक्ता मारमा परेका हुन् । यसका लागि जनस्तरबाट पहल जरुरी रहेको यादवको भनाई छ ।
आयोजनाअन्तर्गत सरकारको करोडौं खर्च गरेर ओभरहेड ट्याङ्की निर्माण गरी बोरिङ्ग गाड्ने, कम्पाण्डवाल गर्ने र कार्यालय भवन बनाउने काम सम्पन्न भएको छ । तर पनि सो आयोजनाबाट उपभोक्ताले स्वच्छ खानेपानी भने पाउन सकेका छैनन ।
‘काम शुरु भएको वर्षै भइस्क्यो, अझै पनि पानी वितरण गर्ने सुरसार छैन, स्थानीय उपभोक्ता शिवकुमार कार्कीले भन्नुभयो, कछुवा गतिमा काम भइरहेकोले निर्धारित समयमा नै काम पूरा हुन नसकेको हो ।’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा कलैयामालाई पटकपटक घचघच्याउँदा पनि कुनै वास्ता गरेका छैनन । उहाँले भन्नुभयो ।‘सफा र स्वच्छ पानी खान पाइने आशा गरेको धेरै भयो । तर खानेपानी योजना संचालनमा आउने छाँट देखिएको छैन ।’ अर्का स्थानीय रामकुमार सापकोटाले भन्नुभयो । सरकारको लापरवाहीको चरम नमुना बनेको बडहर्वा खानेपानी आयोजना संचालनमा ल्याउन स्थानीय जनप्रतिनिधि र अगुवाहरुको समेत ध्यान नपुगेको उहाँको भनाई छ ।१० करोड ३४ लाखको लागतमा निर्माण हुने बडहर्वा खानेपानी आयोजना चालु आर्थिक वर्ष २०८०÷०८१ भित्र सम्पन्न गरिसक्नु पर्ने थियो । आयोजना अन्तर्गत हालसम्म ४ करोड ५२ लाख खर्च भइसकेको र पूर्णरुपमा संचालन गर्न थप करिब २ करोड रुपैंया लाग्ने आयोजनाका प्राविधिकहरुले बताएका छन ।