निजगढ,‘तपस्वी’ भनिएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा व्यक्ति बेपत्ता पारेको आरोपमा दुई वटा जाहेरी परेको छ ।लामो समयदेखि बेपत्ता रहेका जीतपुरसिमराका सुरेश आले मगर र रौतहटकी रिता वोटको परिवारले प्रहरीमा बम्जनविरुद्ध जाहेरी दिएका हुन् ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बम्जनविरुद्ध कर्तव्य ज्यान र बेपत्ता सम्बन्धी उद्योगमा जाहेरी दर्ता भएको बताउनुभयो । बाराको हलखोरिया जंगलस्थित आश्रममा वोटको हत्या गरेको र मुख्य सहयोगीको रुपमा रहेका सुरेशलाई बेपत्ता बनाएको आरोप जाहेरीमा लगाइएको छ ।सुरेश बेपत्ता भएको जाहेरी यसअघि २०७५ सालमा पनि बारा प्रहरीमा दिइएको थियो । सुरेशका बुवा हस्तबहादुर आले मगरले त्यसबेला दिएको उजुरीमा प्रशासनले चासो देखाएको थिएन । तर गत हप्ता सिआईबीले बम्जनलाई पक्राउ गरेपछि सुरेशको परिवारले फेरि जाहेरी दिएका हुन् ।सुरेश जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका हुन् । उनी बम्जनको मुख्य सहयोगी र अनुयायीको रुपमा रहेका थिए । २०७२ साल जेठ दोस्रो सातादेखि सुरेश सम्पर्कविहिन छन् ।उता सर्लाही बागमती नगरपालिका काजीराम टोलकी रिता २०६६ साल अन्तिमदेखि वेपत्ता छिन् । वोट परिवारले हलखोरिया आश्रममा रिताको हत्या भएको भन्दै बम्जनविरुद्ध कारवाहीको माग गरेका छन् । बम्जनविरुद्ध सुरेश र रिताबाहेक अन्य तीन जनालाई समेत बेपत्ता पारेको आरोप छ । साविक रतनपुरी गाविस वडा नम्बर ४ हाल निजगढ १२ बुङ्गजोरका बम्जन अहिले सर्लाही जिल्ला अदालतको आदेशअनुसार थुनामा छन् ।यसैबीच ‘तपस्वी’ भनिएका रामबहादुर बम्जन र उनका अनुयायीले पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्रको जंगलमा बनाइएका संरचना हटाउन निकुञ्ज कार्यालयले पहल सुरु गरेको छ । तत्कालीन जिल्ला वन कार्यालयको क्षेत्राधिकारभित्र रहेको हलखोरिया र आसपासको क्षेत्रमा २०६२ जेठदेखि रामबहादुर बम्जन र उनका अनुयायीले भौतिक संरचना बनाएर भोगचलन गर्दै आएका थिए । बम्जनले ध्यान गरेको स्थलमा अहिले पनि केही अनुयायीले दैनिक सरसफाइ र पूजाआजा गर्ने गर्दछन् । सो ठाउँमा २०७४ सालपछि निकुञ्ज कर्मचारी र सेनाको टोलीले भवनको केही भाग भत्काएको थियो तर भत्किएकोे संरचनामा पनि बम्जनका अनुयायी बस्दैआएका छन । २०७२ सालमा हलखोरियालाई निकुञ्जको विस्तारित क्षेत्रभित्र समेटेपछि कोर क्षेत्रभित्र बनेका भवनहरु सेना र निकुञ्जले आंसिक रुपमा मात्रै भत्काएको हो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बम्जनको विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरिरहेकाले मन्त्रालय वा विभागबाट कुनै निर्देशन आउनासाथ बाँकी भएका संरचना पनि हटाउने बताउनुभयो । २०६१ सालमा बाराको निजगढ नगरपालिका वडा नं १२ रतनपुरीमा जन्मिएका बम्जन सुरुमा निजगढ रतनपुरीकै कल्की सामुदायिक वनमा ध्यानमा बसेका थिए । १० महिना सोही ठाँउमा बसेका बम्जन त्यसपछि हलखोरिया वन क्षेत्रभित्र ६ वर्ष बसेका हुन् । २०६२ सालदेखि बम्जनसँगै रतनपुरी आश्रमा बसेका बेदबहादुर थिङले प्रचलित कानुनले कसुरदार ठहर गरे बम्जनले कारबाही भोग्नुपर्ने बताउनुभएको छ । उहाँले गल्ती गरेको भए कारबाही नहोस् भनेका छैनौं तर साधु सन्तमाथि ठोस प्रमाण बिना नै पक्राउ गर्नु र दोषि भन्न नमिल्ने बताउनुभयो । बम्जनलाई गुरु मानेर बसेकोमा अहिले भएका घटनाले आफूहरुलाई दुखी तुल्याएको पनि थिङले बताउनुभएको छ ।
Home मुख्य समाचार ‘तपस्वी’ बम्जनविरुद्ध बारा प्रहरीमा कतव्र्य ज्यान र बेपत्ता पारेको अभियोगमा दुई वटा...



















